खेलाडी संघ र एभरेष्ट वर्ल्डवीच सम्झौता
काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र एभरेष्ट वर्ड क्लास तेक्वान्दो अमेरिकावीच शुक्रबार आर्थिक सहयोग सम्वन्धि सम्झौता भएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वर्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्र अनुसार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले ब्यक्तिगत रुपमा संस्था मार्फत खेलाडी संघलाई वार्षिक १ लाख प्रदान गर्ने जनाइएको छ । सम्झौता हाललाई ५ वर्षका लागि रहेको छ ।
संघको वार्षिक कार्यक्रम अनुरुप फागुन ६ गते वशन्तपुरमा आयोजना हुन लागेको एनएनपिए स्पोर्टस् अवार्डमा प्रतिभावान २ खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि सम्झौता भएको हो ।
पहिलो पटक सम्मिलित गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी प्रत्येकले नगद ५० हजार प्राप्त गर्नेछन् ।
सम्झौता पत्र आदान प्रदान पश्चात एभरेष्ट वर्ल्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको लागि रगत पसिना बगाउने खेलाडीहरूको सम्मानका लागि सहयोग गर्न पाउनु ठूलो गौरवको कुरा रहेको बताए ।
खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफु खेलाडी जीवन ब्यतित गर्दै खेलाडीहरूको हकहितमा लागेका कार्कीले विदेशमा रहेर पनि खेलाडीहरूको हकहित र सहयोगमा पुर्याएको योगदानको कदर गर्दै कार्कीप्रति कृतज्ञता ब्यक्त गरे ।
२०७५ सालमा मित्र राष्ट्र ईन्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा सहभागी खेलहरूलाई आधार मानी ती खेलबाट २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक/एक जना खेलाडीहरु मध्येबाटनै एक महिला र एक पुरुष प्रतिभावान खेलाडी छनौट गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया