कम्युनिस्ट प्रधानमन्त्री ओलीको अहँकारको अवसान
कपिल केसी
पूर्व बेलायती बिदेश सचिव एवम् प्रशिक्षित मनोचिकित्सक लार्ड ओवेन भन्छिन्, ‘केही नेताहरू वर्षौैंदेखि सत्तामा बसिरहँदा अहँकारी बन्छन् र अरुलाई सुन्न इच्छुक हुदैनन् ।’
२०७४ फागुन ३ गते नेपालको ४१ औं प्रधानमन्त्रीको रूपमा दोस्रो पटक प्रधानमन्त्री भएपछिको खग्गप्रसाद ओलीको क्रियाकलाप यो भनाइसंग मेल खान्छभन्दा अतिशयोक्ति नहोला । राज्य सत्ता संचालन गर्नेले कति वर्ष शासन ग¥योभन्दा पनि शासन संचालन गर्दा के गर्यो भन्नेको माने राख्छ वा भनौं महत्वपूर्ण हुन आउँछ ।
इन्डोनेशियामा २२ वर्ष सुकार्नो, मलेसियामा २५ वर्ष महाथिर र सिंगापुरमा सन् १९५९–१९९० सम्म लि कुआइ युले शासन गरे । लामो समय सत्तामा रहे पनि देश र जनताप्रतिको उत्तरदायित्व पूरा गरेको हुँदा यी तीनजनालाई आज पनि आधुनिक इन्डोनेशिया, मलेसिया र सिंगापुरको निर्माताको रूपमा चित्रण गर्ने गरिन्छ । नेल्सन मन्डेला र डेभिड क्यामरुन जस्ता राजनीतिज्ञहरू एक कार्यकालपछि सत्ताबाट टाढै रहेका उदाहरण छन् ।
कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीको अवसरमा ललितपुरको बाँडेगाउँस्थित किसुनजीको आश्रममा ‘म हलो जोतेर, गोठालो गरेर हुर्केको छोरा हुँ कहिले शासक बन्न सक्दिन । जनताको सेवक बनेर काम गरेर देखाउँछु’ भन्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालको प्रारम्भसंगै उल्टो बाटो समाते ।
ओलीको बोली र ब्यवहारमा ठूलो भिन्नता देखिन थाल्यो । हरेक पटकको भाषणमा १४ वर्ष जेल जीवन बिताएको प्रसंग जोड्ने प्रधानमन्त्री ओलीले जेल बस्नुको उदेश्यलाई भने पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हुँदा समेत प्रमाणित त गर्न सकेनन् नै आफूले गरेका प्रतिबद्धताहरूमा पनि दिन प्रतिदिन चुक्दै गए ।
२०७२ वैशाख १२ को भूकम्प पश्चात अघोषित भारतीय नाकाबन्दीको राम्रै राजनीतिक लाभ लिन सफल दरिएका प्रधानमन्त्री ओलीको शाख दोस्रो कार्यकालको उत्तरार्धसंगै चकनाचुरको अवस्थामा छ ।
दोस्रो संविधान सभापछिको संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेपछि दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याउँँदै शक्ति केन्द्रिकृत गर्नतिर लागे ।
अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी दिएर प्रधानमन्त्रीको हैसियतमा देशको मुहार फेर्ने आँँट त गर्न सकेनन् नै दोस्रो कार्यकालको उत्तरार्धतिर प्रवेश गर्नै लाग्दा ‘मान्छेमा जति अहंकार बढ्दै जान्छ त्यती नै सारा जगतलाई शत्रु ठान्न थाल्छ’ भनेर ओशोले भने झैं पार्टीका आफ्ना सहयात्री र सहकर्मीहरूलाई शत्रु देख्न थाले ।
राम्रा र सक्षम ब्यक्तिहरूको घेरामा भन्दा चाकरी र चाप्लुसीमा खप्पिस पात्रहरू माझ रमाउन थाले ।
प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीमा ललितपुरको बाँँडेमा गरेको प्रतिबद्धता दलाल, पुँजीपति र सामन्तहरूसंग डाइनिङ टेबल सेयर गरेसंगै समाप्त हुँदै गयो ।
ओलीले देखाएको सपनाको पानीजहाजभित्र निर्मला पन्त, ३३ केजी सुन, वाइडबडी भ्रष्टाचार काण्ड, मतदाता परिचय पत्र छपाइ काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवासको जग्गा प्रकरण, गोकर्ण रिसोर्ट लिज प्रकरणहरू प्रवेश गरेसंगै ओलीको जहाज नमज्जाले हल्लियो ।
राजनीतिक दल र संवैधाानिक परिषदसम्बन्धि अध्यादेशले जहाज डुब्ने अवस्थासम्म पुगेको छ ।
सान्दर्भिक बिरोध र आलोचनालाई स्वीकार गर्न नसक्ने हठ ओलीमा रहेको कुरा स्वयं नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले स्वीकार गरेकी छिन् । आफू भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका ओलीको सरकार एकपछि अर्को भ्रष्टाचारको काण्डमा मुछिदै गयो ।
भ्रष्टाचारको छानबिन र दोषी उपर कारवाही त परको कुरा उल्टैै त्यसको ढाकछोप र औंला उठाउनेहरूमाथी कसरी प्रतिशोधको डण्डा बर्साउने भन्नेमै प्रधानमन्त्री ओलीको दैनिकी बालुवाटारमा बित्न थाल्यो ।
राजनीतिक व्यक्तिहरूमा हुनुपर्ने अतिआवश्यक गुणहरू भिजन, इमानदारिता, करुणा, आत्मविश्वास, लचकता र अखण्डता देश, जनता, सहयात्री र सहकर्मीहरूमा होइन बफादार भजनमण्डलीहरूभित्र मात्र सीमित राखे ।
अहँकारले उब्जाएको खण्डित र त्रसित मनोविज्ञानमा बाँचिरहेका प्रधानमन्त्री ओली र उनको झण्डै दुईतिहाइको बहुमतको सरकार कुनै बेला पशुपति शर्माको गीतले समेत तर्सिन पुग्यो ।
भनिन्छ, गलत आत्म मूल्यांकन नै अहंकार हो । अहंकारीले पहिला आफूलाई, त्यसपछि आफू वरपरकालाई र त्यसपछि आवश्यकता भएकालाई मात्र हेर्छ । घटनाक्रम र ब्यवहारलाई हेर्दा ओली मनोविज्ञान यहिँबाट ग्रसित छ ।
पछिल्लो पटक राससलाई दिएको अन्तर्वार्ता हेर्ने हो भने त झन् ‘सबैभन्दा बढी तिम्रा आफ्नै लापरबाह बिचारहरूले तिमीलाई असर गर्छ’ भनेर बुद्धले भनेझैं ओली लाचार र लापरबाह भएको मात्र पुष्ठि गर्दैन दोस्रो मिर्गौला प्रत्यारोपणपछि उनको स्वास्थप्रति प्रश्न गर्नेहरूलाई समेत बल पुग्छ ।
धेरैले आत्मसम्मान र अहंकारलाई एउटैै तराजुमा तौलने पनि गर्छन् । तर, आत्मसम्मान र अहंकारको परिभाषा ठीक बिपरित छ । आत्मसम्मानमा ग्लानी र भय हुँदैन । अहँकारमा ग्लानी र भय हुन्छ ।
प्रधानमन्त्री ओलीको ब्यवहार र हाउभाउ हेर्दा उनी ग्लानी र भयबाट ग्रसित जस्तो देखिन्छ । तसर्थ आफ्नै पार्टीका सहयात्री र सहकर्मीहरूलाई तह लगाउने नाममा समयको सान्दर्भिकतालाई बेवास्ता गर्दै, पार्टीको नीति, सिद्धान्त र संविधानको मर्म बिपरित वैशाख ८ गते राजनीति दल र संबैधानिक परिषद् सम्बन्धि दुईवटा अध्यादेश द्रुत गतिमा ल्याउन उनी बाध्य भएको देखिन्छ ।
यसले प्रधानमन्त्रीको आफ्नो ओझ घटेको त छ नै दोस्रै पटक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी र राष्ट्रपति पदप्रतिको आस्था र जनविश्वासलाई पनि पातालमा पुर्याइदिएको छ ।
परिणाम प्रधानमन्त्री र राष्ट्रपति आफ्नै पार्टी नेकपा मात्र होइन विभिन्न राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज र आम नागरिकबाट समेत आलोचना खेप्न बाध्य छन् ।
कोरोनाको महामारीबीच देखिएको यो गलत राजनीतिक घटनाक्रमले प्रधानमन्त्री ओलीको सरकार देश र जनताप्रति उत्तरदायी छैन भन्ने कुरालाई प्रष्ट पारेको छ ।
अझ तत्कालीन समाजवादी पार्टीका सांसद एवम् पूर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण काण्डले प्रधानमन्त्री ओलीको बचेखुचेको छविलाई धुमिल मात्र पारेको छैन उनको अहँकारको अवसान पनि निश्चित गरिदिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया