घटना दुई, सोँच एक
शेरबहादुर भण्डारी
मेरो एक सपना छ, ‘मेरा ४ बच्चा यस देशमा रहेछन, तिनको आंकलन रंगको आधारमा होइन एक दिन चरित्रको आधारमा हुने छ ।’ मार्टिन लुथर किङ जुनियर
प्राणी जगतमा मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो । त्यसको कारण हो उसमा ठीकबेठिक के हो भनेर सोच्ने क्षमता हुन्छ । मानिसमा यो गुण हुँदाहुँदै पनि मानिस क्रुर, अमानवीय, दानवीय र विवेकहीन किन हुन्छ ?
त्यो प्राणीले नै जब विवेक गुमाउँछ, तब सबै प्राणीहरू एकै हुन् कीभन्दा पनि हुन्छ । जाति, वणर्, वंशका आधारमा हुने विभेदका कारण एक मानिस अर्को मानिसबाट प्रताडित छन् । मानव जातिमाथिको विभेदलाई निर्मुल गर्ने उद्देश्यले प्राय सबै देशले आ–आफ्नो कानून निर्माण गरेका छन् । संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरूले रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवश प्रत्येक वर्ष २१ मार्चमा मनाउँछ । नेपालमा यसलाई जातीय विभेदको विषयसँग जोडेर हेरिन्छ ।
तीन वर्षअघिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जेठ १३ गते जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज बिक पश्चिम रुकुमको चौरजारी–८ सोतीकी १७ वर्षीय मल्ल थरकी युवती लिन १९ जना साथीसहित त्यहाँ पुग्दछन् । सुष्मा मल्लकि आमा लगायत त्यस वडाका वडाध्यक्षकै नेतृत्वमा गाउँलेहरूले जात नमिलेकै भन्ने आधारमा कुटपिट गरी दुलाहासहित ६ जनाको निर्भम हत्या भयो । २२ जनामाथि किटानीमा मुद्धा दायर भएको छ ।
मानवअधिकारकर्मी, पत्रकार, विभिन्न राजनीतिक दलका नेताहरूबाट र जनस्तरबाट यसको व्यापक विरोध भयो, माइतीघर मण्डलादेखि सदनसम्म पनि २०२० मे २५ मा यस्तै घटनासँग मेलखाने घटना समृद्ध राष्ट्र अमेरिकाको मोनिया पोलीस शहरमा घट्दछ । एक जना जर्ज फ्लोड वर्षीय अश्वेत नागरिक २० डलरको नक्कली नोटबाट समान किनेको आरोपमा पुलिसले हत्कडी लगाउँछन् । उनले गाडीमा बस्न नमानेको आधारमा सडकमा लडाएर घुँडाले लगभग ९ मिनेटसम्म घाँटी थिचेर हत्या हुन्छ । उनी अश्वेत जाती भएको कारणले नै प्रहरीले उनीमाथि यस्तो व्यवहार गरेको आरोपमा ३ जना प्रहरीमाथि लागेको छ ।
जसको कारण कोरनाबाट थलथल भएको अमेरिकामा यसले हिंसात्मक रुप लियो । लाखौँ नागरिकले सडक कब्जा गरे । धेरै ठाउँमा लुटपाटका घटनासम्म भए । ब्ल्याक लाइभस् म्याटर भन्ने नारासहित लाखौँ प्रदर्शनकारी देशका विभिन्न शहरमा निस्किए । यतिसम्मकी राष्ट्रपति डोनाल्ड ट्रमले सुरक्षा सहित बंकरमा लुक्नु पर्यो । त्यस देशमा आज पनि एक पटकफेरि अश्वेतहरूले आफूमाथि रंगभेद कायमै रहेको महशुस गरे ।
नेपाली समाजमा छुवाछुत कहिलेदेखि थियो भन्ने सवालमा मत मतान्तर छ । जसबारे प्रभावकारी अनुुसन्धान भएको देखिदैन । राजा जनक र गौतम बुद्धकालीन समयमा पनि जातीय विभेद रहेको प्रष्ट हुन्छ । जनकले ब्राहमण सभा बोलाएको र बुद्धले चण्डाल युवतीको हातबाट पानी खाए बापत उनको आलोचना भएको रामायण र बौद्ध जातका कथामा पढ्न पाइन्छ ।
हिन्दु वर्णाश्रम व्यवस्था भने लिच्छवी कालमा, संस्थापक राजा सुपुस्पले चलाएको मानिन्छ । बैद्धिककालमा समय परिवर्तन सँगै कामको विभाजन गरेको पाइन्छ ।
– शिक्षा दिनेः ब्राहमण
– समाजको रक्षा गर्नेः क्षेत्री
– खेती किसानी गर्नेः बैश्य
– सबैको सेवा गर्ने: सुुद्र
यसैले एकै परिवारका मानिसहरू पनि विभिन्न वर्गमा हुन्थ्यो । पछि हुँदै जाँदा बिक्रम संवत १९१० मा मुलुकी ऐनाले बाध्यकारी व्यवस्था ग¥यो र कानूनको रुपमा आयो । १६औँ, १७औँ शताब्दीमा विश्वका विभिन्न ठाउँबाट खास गरि दक्षिण अफ्रिकाबाट अश्वेत जातिलाई अमेरिकामा दासदासीको रुपमा प्रयोग गरियो । प्रायः त्यस बेला कृषिकार्यमा तिनीहरूको प्रयोग गरिन्थ्यो । यतिसम्म गरिन्थ्यो कि दक्षिण अफ्रिकाबाट पानी जहाजमा ल्याउँदा बाटोमा कोही बिमारी भएमा उनीहरूलाई समुन्द्रमा फालिन्थो र युवाहरूलाई र काम गर्न सक्ने व्यक्ति मात्र अमेरिकामा पुग्दथे ।
तिनीहरूको अवस्था दयनीय थियो । सन् १९७० को दशकमा अहिलेका राष्ट्रपति हाउजिङ्ग कम्पनी चलाउँथे जसले काला छाला भएका मानिसलाई आफ्नो कम्पनीका भवनमा भाडामा बस्न दिएनन् भन्ने आराप छ । सन् १९७० को दशकसम्म पनि दक्षिण अफ्रिकामा सेताहरूको सर्वोच्चता कायमै थियो । यस्तो पनि कानून थियो कि सेताछाला भएका व्यक्तिले अपराध ग¥यो भन्ने काला जातीका प्रहरीले समात्न मिल्दैनथ्यो ।
विभेदपूर्ण विगत भोगेको दलित समुदायले भारत स्वतन्त्रतापूर्व र नेपालमा राणाशासनको अन्त्यपूर्व नै संगठित रुपमा जातीय विभेदविरुद्ध संघर्ष गरेको भेटिन्छ । इतिहासको विभिन्न कालखण्डमा दलित आन्दोलनमा गैरदलित समुदायका प्रगतिशील व्यक्तिहरूको महत्वपूर्ण भूमिक रहँदै आएको सर्व विदितै छ । विक्रम संवत २००६ सालमा नै पुष्पलालले ‘कम्युनिष्ट पार्टीको घोषणा पत्रमा जातपात, नश्ल, जातिका आधारमा गरिने भेदभाव कानूनद्वारा खत्तम पारिनेछ । यसको उल्लंघन गर्नेलाई कानूनद्वारा दण्डनीय पारिनेछ भनि उल्लेख भएको छ ।’ जनयुद्वकालमा प्रचण्डको योगदान पनि केहि हदसम्म देखिन्छ । दलित र उत्पीडित समुदायको मुक्ति चाहने प्रजातान्त्रिक आन्दोलनका शीर्षस्थ नेता वीपी कोइराला पनि हुनुहुन्थ्यो । दलितलाई सम्मान गर्दै वीपी कोइरालाले विस २००९ सालमा धनमान सिँ परियारलाई नेपाली कांग्रेसको पार्टीको महामन्त्री पदमा नियक्त गरी दलितप्रति सम्मान गरेका थिए । समाजवादी नेता प्रदीप गिरीले पनि विभिन्न लेख रचनामार्फत दलित मुद्दा उठान गरेको पाइन्छ ।
बेलायतले ईस १८०७ मा दासदासी खरिद बिक्री बन्द ग¥यो भने ईस १८६० मा अमेरिकामा १६औँ राष्ट्रपति अब्राह्म लिङ्खनले कानुन रुपमा दाशप्रथाको अन्त गरेको थियो । कानूनी रुपमा रंगभेदको अन्त्य भएपनि व्यवहारमा यसको गहिरो प्रभाव भने २० औं शताब्धीसम्म रहेको पाइन्छ । यतिसम्मकी बसहरुमा र विद्यालयहरूमा काला र गोरा जातीको लागि बस्ने सिटहरू अलग–अलग हुन्थ्ये । यस्तो प्रथाको अन्त्य गर्नको लागि विभिन्न व्यक्तिको योगदान रह्यो त्यसमा महत्वपूर्ण व्यक्ति थिए ।
महात्मा गान्धीबाट प्रेरक मार्टिन लुथर किङ्ग उनले नेतृत्व गरेको आन्दोलनको कारण ईस १९६३ मा स्कुल र बसमा अलग–अलग सीट राख्ने व्यवस्थाको खारेज भयो । पटक–पटक यस्ता घटना हुने गर्दछन् र घटनासंग रंगभेदको कुरा जोडिन्छ । स्वतन्त्र र सम्मान पूर्वक बाँच्न पाउन उसको अधिकार हो । एउटा देश र धर्मले त्यहाँका व्यक्तिहरूबीच भाईको भाई नाता सृजना गर्दछ । समानता र सह–अस्तित्वको व्यवहार नै सभ्य मानिसको प्रतीक हो ।
बिक्रम संवत २००७ सालको क्रान्ति, २०४६ सालको क्रान्ति, २०२० सालमा छुवाछुतको अन्त्य गर्ने घोषणा गर्यो । २०४७ सालमा पनि सार्वजनिक स्थलमा छुवाछुतको अन्त्य गर्ने व्यवस्था गर्यो । २०६२–६३ को क्रान्तिले उठाएका विभिन्न मुद्दा मध्ये महत्वपूर्ण मुद्दा छुवाछुतको अन्त्य थियो । पटक–पटक भएका आन्दोलनले नेपाली समाजमा सबै प्रकारका विभेद अन्त्य गर्ने घोषणा त हुन्छ नै, जातीय छुवाछुतका घटना भने पटक पटक घट्ने गर्दछन् ।
नेपालको संविधान २०७२ को धारा २४ मा मौलिक हकमा छुवाछुत र जातीय भेदभावविरुद्ध व्यवस्था गरेको छ र दलित समुदायका विभिन्न हकअधिकारको ब्यबस्था गरेको छ । संविधानमा जन्मले सबै मानिस समान हुन्छ ।
आजको नेपाली समाजमा पनि एक नेपालीले अर्को नेपालीलाई सम्मान पूर्वक व्यवहार गरे मात्रै राष्ट्रिय एकता कायम हुनेछ र देश समृद्धि बाटोमा अगाडि बढ्नेछ । सीप, कला, संगीत र साहित्यको धनी यो समुदाय आफ्नै भूमिमा अपहलित भएर बाँच्नु पर्ने स्थिति छ । सिङ्गो जात व्यवस्थाले नेपाली समाजको प्रगतिलाई पारेको असरको विषय राजनीतिकको केन्द्रीय बहसको विषय कहिले बन्ला ? कुनै सुइकोसम्म छैन ।
संघीय लोकतान्त्रिक नेपालका सचेत नेपालीले जातीय विभेदको अन्त्य गर्नुपर्दछ । यसको लागि कानून समाज परिवर्तन गर्ने माध्यम हो । त्यसैले संविधानमा उल्लेखित कानूनको पालना सबैले गर्नै पर्दछ र त्यसभन्दा अर्को महत्वपूर्ण पक्ष भनेको त्यो वर्गलाई आर्थिक रुपले सम्पन्न बनाउनु, आर्थिक क्रियाकलापसंग जोड्नु पर्दछ । साथै कथित आफूलाई उपल्लो जात ठान्नेहरुको मानसिकतामा परिवर्तन हुन जरुरी देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया