यी हुन् काठमाडौंमा युवतीलाई एसिड हान्ने भारतीय नागरिक
काठमाडौं । काठमाडौंमा बिहीबार राति यवुतीमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार राति घटना भएको तीन घण्टाभित्र दुई भारतीयलाई पक्राउ गरेको जनाएको छ ।
बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलम र उनको पसलमा कार्यरत भारतीय नागरिक मुन्ना महम्मदले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
मुन्ना महम्मद भारतको शिवरका हुन् । एसिड प्रहार गर्दा मुन्नाको हात समेत जलेको छ ।
प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज र फोनको रेकर्डबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लागेको छ ।
घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन ।
बिहीबार राति ११ बजे महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महम्मदलाई नियन्त्रणमा लिएपछि सबै कुरा खुलेको छ ।
मुन्नाको देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको छ ।
मुन्नाको बयानपछि उनका मालिक आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । मुन्नाले मालिकको आदेश मानेर युवतीलाई एसिड हानेको बताएका छन् ।
आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले बेवास्ता गरेपछि एसिड हान्ने योजना बनाएको बयान दिएका छन् ।
पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् ।
ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया