कांग्रेसकाे सुदृढ र सबल संगठन, पार्टीभित्रै आमूल परिवर्तनको आवश्यक्ता
विकास सौगात
नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिक आइरहेको बखत अघिल्लो निर्वाचनमा कांग्रेसले व्याहोर्नु परेको ठूलो हारको समीक्षासंगै भविष्यमा पार्टी र देशको लागि उपयुक्त नेतृत्व छान्ने सुवर्ण मौका पनि भएकोले म जस्ता यूवाले कांग्रेसप्रतिको आफ्नो अनुभव, विचार र दृष्टीकोण नलेखीरहन सकिन । हरेक युवालाई पार्टीमा आस्थावान र आवद्ध बनाउन नेता नैतिकतामुखी, इमान्दार, लोकप्रिय र राजनैतिक दृष्टीकोणबाट स्पष्ट र स्वच्छ छवि हुन आवश्यक छ । पार्टीको प्रणाली पद्धतीसमेत चलायमान र वैज्ञानिक हुनुपर्छ । जुन कारणले जोसुकै युवा दिलदेखि नै सच्चा रुपमा डेमोक्रेटिक बन्ने प्रेरणा मिल्न सकोस् ।
जिम्मेवार पार्टी पद्धति र नैतिकताको राजनीति आजको अपरिहार्यता हो । सुदृढ र सबल संगठन, कांग्रेसभित्रै आमूल परिवर्तन आवश्यक छ । त्यसैले महाधिवेशन लगायत समग्रमा कांग्रेसबारे आफ्नो विचार बुँदागत रुपमा राख्न चाहान्छु ।
भावनात्मक रुपमा मात्रै की संगठनात्मक रुपमा पनि कांग्रेस ?
मुलतः मेलै आफ्नो उमेर समूह र परिवेशका कुराहरूको बढी प्रतिनिधित्व गर्दछु । कांग्रेसको शुभेच्छुकहरु थुप्रै छन् । भावनात्मक रुपमा आस्था राख्दछन् । तर उनीहरूलाई संगठनसंग एकाकार गरेर लान सकिएको छैन । भावनात्मक सम्वन्धले उसको भोट सुरक्षित त होला तर संगठकले जस्तो अरुलाई जोडेर ल्याउन सक्दैन । आस्था र विचारलाई विस्तार गर्नको लागि संगठनको बल समेत आवश्यक छ । त्यसैले सक्रिया युवालाई संगठनले अंगालेर अघि बढ्नैपर्छ ।
अभियान मात्रै की संगठन पनि ?
पार्टीका सबै नेता आफ्नो क्षमता र योजना अनुसार कुदिरहेकै छन् । अभियानहरू धेरै भएका छन् । अधिकांश अभियान पार्टीभन्दा पनि व्यक्ति केन्द्रित देखिन्छ । ती अभियानलाई संगठनसंग जोडेर लान सके पार्टी र नेता दुवैको हित हुनसक्छ । अभियानले व्यक्तिगत फलोअर बढाउँछ । संगठनको निर्माण गर्दैन । किनकी संगठन चेन अफ कमाण्डका आधारमा परिचालित हुन्छन् । टप टु बटम र बटम टु टप सूचना प्रवाह हुन्छन् । अभियानमा क्रिया प्रतिकृया जस्ता समीक्षात्मक कार्यभन्दा एक अर्काका केवल प्रशंसक मात्र हुन्छन् । संगठन कमजोर र नेता बलियो भएको पार्टीको अवस्था पटक पटक देखिएकै छ ।
योगदान र योग्यता सहितको नेतृत्व
हरेक युवा उसको युगमा अधिकतम अब्बल रहन सक्छ । योगदान र अवधीमा आधारित परम्परागत पद्धतिको विकसित रुप योगदान र योग्यताको आधारमा संगठन गर्न अनिवार्य छ । अवधीको आधारमा लाइनमा बसेर गन्तव्यमा पुगिदैन । त्यसैले योग्यताको आधारमा अगाडि बढ्ने फरक फरक लेन निर्माण आवश्यक छ । सवैलाई आ–आफ्नो गति अनुसारतको सम्मानित स्टेशनको खाँचो छ ।
स्मार्ट मतदाता
पार्टीभित्रै विविध किसिमका द्वन्द्वहरू देखिने गर्दछन् । जसमध्ये एउटा पेचिलो द्वन्द्व स्थानीय तहमा रहेका कार्यकर्ता भर्सेज बाहिर रहेका कार्यकर्ताहरूमा एक अर्का बीचको बुझाइ पनि हो । युवा र अग्रजबीचको सदाबहार टकराव छँदैथियो । पहुँचवाला र पहुँचविहीन कार्यकर्ता जस्ता ईश्युहरू आउनु नेपाली राजनीतिको सामान्य विशेषता नै हो । आजका मतदाता यति स्मार्ट छन् की रहेक कुरामा अद्यवधिक छन् । मुख्य कुरा त सूचनासंग मजवुत पहुँच छ । यस अवस्थामा मतदाताको लगभग ४० प्रतिशत मत निर्वाचन क्षेत्र बाहिर रहेका व्यक्तिहरूबाट निर्देशित हुने अनुमान गर्न सकिन्छ । केही युवाहरू निर्वाचन क्षेत्रभन्दा बाहिर र अधिकांश विदेशमा छन् । हरेक कुरामा जानकारी राख्दछन् । निर्वाचनमा पनि यीनै समूहले प्रभावित गर्न सक्ने देखिन्छ । जुन समूह सूचना प्रविधीसंग अभ्यस्त छन् । प्रचार प्रसार, विरोध र समर्थन कार्यमा पनि यसको प्रमुख भूमिका हुन्छ । त्यसैले यस समूहलाई संगठनमा सम्मानका साथ समेटेर लानु आवश्यक हुन्छ ।
पार्टीको अवधारणा जनप्रतिनिधीको काँधमा
राष्ट्र निर्माण गर्ने कुरामा पार्टी संवेदनशील हुनैपर्छ । नेताले साधारणतय अन्य भन्दा धेरै परसम्म देख्न सक्नुपर्छ । सो दुरदृष्टिलाई पार्टीको योजनामा समाहित गरेर लान सक्नु पर्दछ । पार्टीले प्रत्येक तह र क्षेत्रबाट आवधिक रुपमा योजना संकलन, गुणासो संकलन लगायत जनता र राष्ट्रको जीवन र समृद्धिसंग सरोकार राख्ने महत्वपूर्ण कुराहरूको डाटा संकलन गरी योजना बैंक निर्माण अवाश्यक छ । ती योजनाहरूको आवश्यक अध्ययन, विश्लेषण र छनौट गरी कार्यन्वयनका लागि पार्टीले जनप्रतिनिधी मार्फत जनता समक्ष लैजानु पर्दछ ।
टिकट बाँड्ने की उम्मेदवार छान्ने
टिकट भनेको जनताको भोलिको उज्वल भविष्य र पार्टीको बलियो साख निर्माणको निम्ति अधिकतम उपयुक्त उम्मेदवारलाई छान्ने प्रकृया हो । यसबारे विभिन्न प्रकारका बेथितीहरू छन् । ती सबै बेथितिहरूलाई निर्मूल गरेर अगाडि बढ्ने सक्ने पार्टी पद्धति र मापदण्डको आधारमा न्यायोचित निर्णय प्रकृया अपरिहार्य छ । जुन प्रणालीले कोही उत्साहित र कोही निराश हुन नपर्ने अधिकतम ग्यारेन्टी गर्न सकोस् । टिकट बाँड्ने प्रचलनबाट नै पार्टीभित्र घात अन्तरघातका घट्नाहरू बारम्बार दोहोरिदै आएको छ । यसको अन्त्य जरुरी छ ।
पार्टी केन्द्रित पद
पार्टीको विधानले व्यवस्था गरेको विभिन्न विभागहरु पार्टी चलायमान होस् भन्ने हेतुले हो । त्यसलाई नेता केन्द्रित र पार्टीको महाधिवेशन केन्द्रित भएर प्रयोग हुनु पार्टीको लागि दुर्भाग्यपूर्ण हुन्छ । महाधिवेशन सकिएको निश्चित अवधीभित्र विभागहरूले पूर्णता पाएमा संगठनलाई टेवा पुग्छ अन्यथा अल्पकालीन पदको धनी बनाएर कार्यकतालाई वास्तविक नेता हुनबाट च्यूत गर्ने कार्य बाहेक खास परिणाम दिन सक्दैन । पार्टीको जीवनमा सबैभन्दा महत्वपूर्ण काल भनेको निर्वाचन र निर्वाचनमा जीत नै हो ।
नैतिकताको राजनीति
पार्टीमा गुण जति आफू लिने र दोष जति अरुलाई थोपारेर पद जोगाउने जुन प्रवृत्ति हावी छ । यसले आउने पुस्तालाई समेत नैतिकताको राजनीतिबाट टाढा राख्ने काम हुन्छ । त्यसैले नेतृत्वकर्ताले जीतको जस लिँदै पार्टीको नेतृत्व र हारको दोष लिंदै ससम्मान राजीनामा गर्ने नैतिकताको राजनीति र राजनीतिज्ञको खाँचो छ ।
गुँटको राजनैतिक संस्कार
पार्टी नेृतत्वका लागि गुट निर्माण गर्ने र गुटलाई संरक्षण गरिराख्ने परिपाटीले पार्टीको जीवनमा फाइदा गरेको छैन । क्रियाशील सदस्यको काम वडा प्रतिनिधी चुन्ने बाहेक खासै महत्वपूर्ण जीम्मेवारी प्रदान गरिएको छैन । आफ्नो पार्टीको केन्द्रीय सभापति लगायतको पदाधिकारी र जिल्ला सभापति चुन्ने मौका क्रियाशील सदस्यलाई दिने हो भने कार्यकर्तामा क्रियाशीलता, जिम्मेवारीवोध र जवाफदेहिता बढेर जाने विश्वास गर्न सकिन्छ । यस प्रणालीले नेता संगठन र कार्यकर्ताप्रति जवाफदेही हुनसक्छन् । गुट निमार्ण र गुटको पक्षपोषणलाई समेत निरुत्साहित गर्ने आशा राख्न सकिन्छ ।
यूवाहरुको लागि कांग्रेस विचारधारा बारे सहजरुपमा अध्ययन गर्न सकिने पुस्तकको प्रकाशन र वितरण आवश्यक छ । विचार र सिद्धान्तको प्रशिक्षण आवधिक रुपमा हुन सकोस् । कोही युवा पार्टीमा संगठित हुँदै गर्दा बहकाउबाट नभइ विचार र सिद्धान्तबाट निर्देशित हुने हो भने पार्टी र नव युवाबीचको सम्बन्ध टिकाउ र मजवुद हुनसक्छ । त्यसैले कांग्रेसको रुख बलियो हुनका लागि जरा मजबुत रुपमा फैलिन आवश्यक छ । युवा संगठन कांग्रेस पार्टीको अभिन्न जरा हो ।
म जस्ता युवालाई मनदेखि के लाग्दछ भने नेता नैतिकवान होस् । सक्षम र युगसुहाउदो युवाको भूमिका बढ्दै जाओस् र आदरणीय जेष्ठ नेताहरूले सम्मानका साथ नेतृत्व युवालाई सुम्पिएर आफूले योगदान गरेको पार्टीको वाचडकको काम गरुन् । पार्टी र राजनीति पेशा बनिरहेको परिप्रेक्षमा योग्यताको आधारमा निश्चित अवधीभित्र जिम्मेवारी पाउने र सोही अनुसार निश्चित अवधीभित्र विदाइ लिने रानजैतिक पद्धति, संस्कार र वातावरणको सृजना होस् । पार्टीभित्र पद र जिम्मेवारीका लागि नीति, विचार र सिद्धान्तभन्दा पहुँच प्राथामिकताको नियतीले सच्चा युवाको मनमा राजनैतिक वितृष्णा जाग्दछ । सच्चा कार्यकर्ताको मन भत्किन्छ । असल शुभेच्छुकको दृष्टीकोण बदलिन्छ । त्यसैले पार्टीको मूल्य मान्यता, नीति, पद्धतिलाई सुदृढ गरियो भने मात्रै देशले समेत जिम्मेवार राजनैतिक नेतृत्व पाउन सक्छ । जिम्मेवार, सक्षम र नैतिवान नेतृत्वले मात्रै देशभित्र विद्यमान विकृति विसंगतीहरूलाई हटाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको देश र जनतालाई समृद्धिको बाटोतर्फ अग्रसर बनाउन सक्छ । जय नेपाल ।
फेसबुकबाट तपाईको प्रतिक्रिया