कांग्रेस दागी, बागी र सुविधाभोगीको होइन, त्यागीहरूको पार्टी कसरी बन्ला ?
जगदीश्वर नरसिंह केसी, सभापति, नुवाकाेट कांग्रेस
नेपाली कांग्रेसमा जसका मुखाराविन्दबाट पनि सभापति र महत्वपूर्ण पदाधिकारीको लागि मात्र उम्मेदवारीको दावी सुनिएपछि आगामी चौधौं महाधिवेशन भनेको समयसामपेक्ष जनमुखी नीति, एजेण्डा, विचारधारा, नवीन मूल्य–मान्यतालाई आधिकारिकता दिने र त्यसका लागि पदाधिकारी नेतृत्व चाहिने सुझबुझ पूरै उपेक्षित र तिरस्कृत भएको वा बिर्सेको हो त ? भन्ने प्रश्नवाचक निचोड बन्दछ ।
मेरो भनाई— पदको दावी गर्न वा आफ्नो महत्व बढाउनै नपाइने भन्ने अर्थमा नबुझियोस् । पार्टीका केन्द्रीय सभापति, प्रदेश, जिल्ला तहका सभापति र अन्य पदको दावी गर्नेले सो पदमा बसेर पार्टी संगठन कस्तो बनाउने कटिबद्धता लिएको हो ? के–कस्ता नीति, प्रतिबद्धता, मूल्य–मान्यता स्थापित गर्न आफू पदको दावेदार भएको हो, त्यसबारेमा नामोनिसान केही छैन ।
घरदैलो र शक्तिकेन्द्र धाएर पदको दावी गर्नेको यस्तो ‘पद–यात्रा’ अभियान, पार्टीको लागि ताजा लोकप्रिय मार्गदर्शक प्रस्ताव, योजना, कार्यक्रम, पार्टी संगठित, संस्थागत र विधानसम्मत तरिकाले चलाउने, सबैलाई विश्वासमा लिएर काम गर्ने नवीन विस्तृत योजना प्रस्तुत गर्न सकेमा मात्र दावीको औचित्य स्थापित हुनसक्छ ।
गतिलो भाग खोज्ने हकमा जिम्मेवारी, कर्तब्य, दायित्व, अभिभारा र वैचारिक स्पष्टता पनि भरोसायोग्य रुपले प्रकट हुनुपर्छ । तबमात्र पदको दावेदार हुन सुहाउँछ ।
विगतमा देखापरेको सिद्धान्तहिन चरम गुटबाजी, ६०–४० को भागबण्डा, पार्टी विधानको हुर्मत लिएर सिंगो पार्टीलाई नै वर्वादीको खण्डहरमा पु¥याएको कु–कृत्यलाई सच्याउने विचार, योजना र दृढता कहाँ छ कोसँग छ ? आफू पदाधिकारी चुनिएमा गुटबन्दी, भागबण्डा रोक्न भागबण्डाबाट पाउने वा आउने हिस्सा कुनै हालतमा लिन्न भनेर किन भन्न सक्दैनन् यी दावेदारहरू ।
पार्टीलाई भ्रष्टाचार, दण्डहीनता, अनुशासनहीनता र अराजकताले निल्नै लागेको आजको परिस्थितिबाट पार्टी जोगाएर नयाँ जीवन दिने विचार, योजना, लक्ष र प्रतिबद्धता नभएकालाई किन निर्वाचित गर्ने केका लागि गर्ने ?
अब सभापति वा महत्वपूर्ण पदाधिकारी उमेदवार हुने, विजयी र पराजित सबैले ४०–६० को कुख्यात भागबण्डामा सामेल हुन्न, दिए पनि लिन्न वा दिन्न भनेर प्रतिबद्धता जनाउनै पर्छ । पार्टीको विधान र अनुशासनको इमानदारीका साथ पालन गर्न गराउने परिपाटी बसाल्नुपर्छ । जित्नेले हरेक क्षेत्रमा मेरो र उसकोभन्दा पनि पार्टीको लागि त्याग र योगदान गरेको, लोकप्रियताको आधारमा मूल्याङ्कन गर्नुपर्छ । गणेश वा मन्थरा प्रबृत्तिको अन्त्य गर्ने आँट व्यबहारमा सावित गर्नुपर्छ ।
यो पार्टी त्यागी नेताहरूले बनाएको हो भने बागी, दागी र सोविधाभोगी नेतृत्वबाट आज पीडित हुन पुगेको छ । पहिलेको कांग्रेसमा ‘पार्टी कार्यक्रम र संघर्षमा योगदान पु¥याएको’ प्रोफाइल हेरिन्थ्यो । आजकाल पदको दावी गर्नेमध्ये कतिपयबाट ‘पार्टीमा ठूलो लगानी गरेको’ कुरीकुरी लाग्दो हिसाब सुनिन्छ । पार्टीप्रति समर्पित क्रान्तिकारी कार्यकर्ताले ‘योगदान’ गर्छ, बेपारीले अन्य क्षेत्रबाट आएर अबसरलिनेले पो ‘लगानी’को हिसाब सुनाउँछ ।
नेपाली कांग्रेसको मूल्य, मान्यता, विचारधारा, इतिहास, संस्कार, परम्परा, सभ्यता बुझेका तमाम निष्ठावान् कार्यकर्ता साथीहरूले कसैसँग रिसाउनुपर्ने त होइन, तर भद्रता र जिम्मेवारीपूर्ण सावधानी अपनाउनुपर्ने जरुरी भइसक्यो ।
पार्टीमा त्यागीहरू किनार लाग्ने, दागी, बागी र सुविधाभोगीहरूको हालीमुहाली चल्ने कुप्रथालाई निर्ममताका साथ अन्त्य गर्न चौधौं महाधिवेशनका लागि आजैदेखि हामी मानसिक र वैचारिक रुपले तयार हुनु नै सामुहिक लक्ष भेट्ने हाम्रो एकमात्र बाटो हो हुनुपर्नेछ ।
अन्तमा जननायक बिपी कोइरालाले भन्नुभए जस्तो लोकतन्त्र आएपछि सुकिला, मुकिला, चिल्ला गाडी चढ्नेहरू र पैसावाल पार्टीमा हावी हुनेछन् । सच्चा इमान्दा निष्ठावान् कार्यकताले फेरि एक पटक आन्दोलन गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया