कांग्रेस हुँभन्दा १९ वटा मुद्धा खेप्नु पर्याे, वीपीले नाम लिँदा दङ्ग परेः दीपक गिरी
दीपक गिरीलाई कांग्रेसको राजनीति गर्दा सुरुवाती दिनमा धेरै दुःख कष्ट भोग्नु परेको थियो । सानो उमेरमा नेविसंघ हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका गिरीलाई देश र जनतालाई पञ्चायती व्यवस्थाबाट छुटकारा दिनुथियो । गिरीसँगै राजनीति गरेका केही नेताहरू अवसर पाउनेको सूचीमा पहिलो नम्बरमा पर्छन् ।
गिरी आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि देश, जनता र पार्टीप्रति सधैँ वफादार रहे । त्यसवापत उनी कांग्रेसको नेतृत्वमा जान केही ढिला भयो । हुन त गिरीले सानै उमेरमा संसदीय निर्वाचनका लागि टिकट पाएका थिए । त्यो टिकट आफूले नलिएर अरुलाई दिन सुझाव त्यस बेलाको कांग्रेस नेतृत्वलाई दिएका थिए ।
गिरी ०३३ सालदेखि नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका हुन् । गिरीले भारतको गोरखपुरमा सदस्यता लिने क्रममा उनीसँग ६/७ नेताहरू थिए । नेविसंघ र पार्टीको विभिन्न तहमा काम गर्दै आएका गिरी अबसर पाउने नेताहरूको सूचीमा अलिक पछाडि छन् । गिरीले निष्ठा, ईमान्दारिता र त्यागको राजनीतिमा विश्वास गर्छन् ।
वीपी कोइरालाको संगतले सहमति, सहकार्य र मेलमिलापको नीतिलाई गिरीले सधैँ ध्यान दिने गर्छन् । उनी तत्कालीन समय ०३३/३४ सालतिर दाङ क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति भएका थिए । त्यस बेला क्षेत्र नं. १ मा अर्जुन रेग्मी, क्षेत्र नं. २ मा कृष्णकिशोर घिमिरे, क्षेत्र नं. ३ मा ऋषिराज आचार्य कांग्रेसको सभापति थिए ।
०३६ सालमा जनकपुरको तेस्रो महाधिवेशनबाट गिरी नेविसंघको केन्द्रीय सदस्य बनेका थिए । तेस्रो महाधिवेशनमा विमलेन्द्र निधि अध्यक्ष बनेका थिए । दिलबहादुर घर्ती महामन्त्री थिए । साेही कार्यसमितिमा नेपाली कांग्रेसका हालका महामन्त्री पूर्णबहादुर खड्का पनि नेविसंघकाे केन्द्रीय सदस्य थिए ।
०३८/३९ सालमा गिरी त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचनमा सभापतिमा उम्मेदवार बनेका थिए । सोही बेला विजयकुमार गच्छदार विराटनगरको क्याम्पसबाट सभापतिमा उम्मेदवार बने । गच्छदार मुलुकको राजनीतिमा कहाँ छन् ? सधैँ आदर्शकको राजनीति गर्दा गिरी कहाँ छन् ?
सुवास निरौला, ध्रुव वाग्ले, डा.प्रकाशशरण महत नेता गिरीसँगै एउटै क्लासमा पढ्थे । त्यस बेला उनीहरू मिल्ने साथीहरू थिए ।
०३९ सालमा नेविसंघको चौथो महाधिवेशन दाङमा गर्ने निर्णय भएको थियो । महाधिवेशन आयोजक समितिको संयोजक गिरी थिए । माहाधिवेशनका लागि सम्पूर्ण तयारी भएको थियो । दाल, चामल, तेल, ओढ्ने ओछ्याउने सबै तयारी गिरीले गरेका थिए । महाधिवेशन हुनुभन्दा केही आगाडि गिरी ०३९ सालमा पक्राउ परे । गिरीसँगै मदन गौतम, ध्रुव केसी, कमानसिंह खड्का, भरत पुरी पक्राउ परेपछि नेविसंघको दाङमा हुने भनिएको अधिवेशन स्थगित भयो ।
त्यसपछि गिरी ०४२ सालको सत्याग्रह केन्द्रीय एक्सन कमिटीको सदस्य बने । साे एक्सन कमिटीकाे संयाेजक बलबहादुर केसी थिए । कांग्रेस त्यस बेला प्रतिबन्धित थियाे । सदस्य बनेपछि साथीहरूसँग सत्याग्रहका लागि दाङ आए ।
०४४ सालमा त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दै गर्दा स्ववियुमा महासचिव भएका थिए, गिरी ।
गिरीलाई पञ्चायतकालमा राजकाजसम्बन्धी मुद्धाहरू लागेको थियो । तुलसीपुरको बैंक लुट्ने योजना बनाएको आरोप पनि गिरी पक्राउ परे । उनलाई बैंक लुट्ने योजना बनाएको अभियोगमा ४० दिन थुनामा राखिएको थियो । गिरीलाई तत्कालीन शासन व्यवस्थाले १९ वटा मुद्धा लगाएको थियो । मुद्धा लागेका बेला ०३५/३६ सालतिर जनमत संग्रह घोषणा भयो । त्यसपछि गिरी जेलबाट रिहा भए ।
पक्राउ परेका बेला गिरीले तत्कालीन प्रहरी प्रशासनबाट ठूलो यातना भोगेका थिए । रमेशनाथ पाण्डेको पत्रिका ‘नयाँ सन्देश’ साप्ताहिकले १८ वर्षका दीपक गिरीले बैंक लुट्ने योजना बनाएपछि पक्राउ परेको भनेर समाचार छापेको थियो । ‘म त्यस बेला ४५ दिन जेलमा बसे’, गिरीले भने, ‘पटक–पटक गरेर तीन वर्ष जेल बसेको छ ।’ गिरी सम्पन्न परिवारकै हुन् । उनलाई बैंक लुट्नै पर्ने अवस्था थिएन । त्यस बेलाकाे शासकहरूले गिरीकाे राजनीतिक गतिविधिबाट डराइ रहेका थिए । गिरीलाई फसाउन बैंक लुट्ने याेजना बनाएकाे झुठ्ठा अभियाेग लगाइएकाे थियाे । त्याे अभियाेग धेरै टिक्न सकेन ।
बहुदल आएपछि गिरीले तुलसीपुर बजारमा आयोजित सभालाई सम्बोधन गरेको अहिले पनि स्मरण गर्छन् । बहुदल घोषणा भएपछि गिरीलाई लिन अञ्चलाधीशले गाडी पठाएका थिए । तर, गिरी त्यो गाडीमा चढेनन् । आन्दोलनका बेला खुमबहादुर खड्का पनि जेलमा थिए ।
वीपी कोइरालासँग भेट भयो । वीपी उहाँ–जहाँ जानु हुन्थ्यो मलाई र ध्रुव वाग्लेलाई सँगै लैजानु हुन्थ्यो । म त्रि–चन्द्र क्याम्पसमा स्ववियु सभापतिमा उम्मेदवार बन्दा वीपीले कसले टिकट पाएको छ भनेर सोध्नु भएको रहेछ । दीपक गिरीले टिकट पाएर उठेको छ भनेपछि वीपीले ‘दाङको कालो त्यो दीपक !?’ भनेर भन्नुभएको थियो । वीपीले मलाई समर्थन जनाएर ठीक छ भन्नुभयो । वीपीसँग निकट रहेर धेरै काम गरेको छु ।
किशुनजीसँग पनि सम्बन्ध राम्रो थियो । किशुनजीले ०५१ सालमा मलाई टिकट दिनुभयो । त्यस बेला म जम्मा ३३ वर्षको थिएँ । दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बने । ०४८ सालमै म चुनाव लड्नुपर्ने थियो । तर, लडिन । ०४८ मै टिकट पाएँकाे थिएँ ।
एक दिन वीपीले मलाई आफ्नो निवासमा आफूसँगै फोटो खिचाउन बोलाउनुभयो । म गएँ । फोटो खिच्दा म अलिक टाढा थिएँ । उहाँले अलिक नजिक आउन भन्नुभयो । त्यस बेला अहिले जस्तो मोबाइलबाट फोटो खिच्ने चलन थिएन । १०–१२ वटा फोटो खिच्ने रिल हुन्थ्यो ।
कांग्रेसको राजनीतिमा वीपी, किशुनजीको संगतले गिरीलाई कहिल्यै पनि निष्ठाभन्दा टाढा जाने अनुमति भएन । अहिले पनि गिरीले वीपी र किशुनजीले सिकाएको बाटोमा कांग्रेसलाई लैजानुपर्ने बताउँछन् । बेलाबेला कांग्रेसका केही नेताहरूको व्यक्तिगत स्वार्थले कांग्रेसलाई असर पर्ने गरेको उनको भनाइ छ । ‘कांग्रेसमा धेरै ईमान्दार कार्यकर्ता छन्’, उनले भने, ‘ती कार्यकर्ताहरूलाई हामीले पाल्न पनि पर्दैन, संगठनमा राख्नु पनि पर्दैन । आवश्यक पर्दा उनीहरूले नै कांग्रेस बचाउने गरेका छन् ।’
कांग्रेसको १४औँ महाधिवेशन आउँदै छ । नेतृत्व लिने होडबाजी चलेको छ । गिरीलाई नेतृत्वमा पुग्नभन्दा पनि कांग्रेसलाई बलियो बनाएर कम्युनिस्टहरूका कारण कमजोर भएको राष्ट्रियता बलियो बनाउनुपर्ने चिन्ता छ । उनले लोभलाच छाडेर, एकले अर्कालाई खुट्टातान्ने प्रवृत्ति त्याग गरेर ईमान्दारिताको राजनीति गर्नुपर्ने बताएका छन् ।
केही साथीहरूबाट बेलाबेला धोका पाएको गिरीसँग नमिठो अनुभव पनि छ । तर, धोका पाउँदैमा ती साथीहरूलाई छाडेर एक्लै राजनीति गर्ने पक्षमा गिरी छैनन् । उनी भन्छन्, ‘असन्तुष्ट समूहलाई पनि मिलाएर लैजाने भनेकै नेताभित्र रहेको गुण हो । सबैलाई मिलाउन सक्नुपर्छ । अनि मात्रै नेता भइन्छ । पार्टीभित्रका विरोधीलाई ठेगान लगाउँदै जाने हो भने कांग्रेस समाप्त हुन्छ ।’
अहिलेको समयमा कांग्रेसमा त्याग र योगदान दिएकालाई भन्दा पनि आसेपासेहरूलाई नेतृत्वले काखी च्यापेको देख्दा गिरीलाई दिक्क लाग्छ । उनी भन्छन्, ‘योगदानको कदर हुनुपर्छ । आज आएर भोलि नै कांग्रेसको नेतृत्व र अवसर दिने कार्यमा विचार गर्नुपर्छ ।’
प्रस्तुतिः विमल याेगी
फेसबुकबाट तपाईको प्रतिक्रिया