मनमा लागेका कुरा, ममता बनर्जीले जस्तै जोखिम लिन सक्छौँ ?
रोमी गौचन थकाली, नेता, नेपाली कांग्रेस
केही महिनादेखि छिमेकी राष्ट्र भारतको पाँच प्रान्तीय राज्यको निर्वाचनलाई नजिकबाट हेरी गहिरो अध्यन गरीरहेको थिएँ । पाँच प्रान्तीय राज्यको निर्वाचनमध्य सारा भारतको र विश्वको चासो बंगाल प्रान्ततिर सोझिएको थियो । किन भने सन् २०१६ मा भएको विधान सभाको निर्वाचनमा ३ सिट मात्र लिएको भारतीय जनता पार्टीले सन् २०१९ मा भएको लोकसभाको निर्वाचनमा ४२ सिटमध्य १८ सिट जितेर तहल्का मचाइदिएको थियो । र, हालै सम्पन्न निर्वाचनमा भारतीय सञ्चार माध्यमका अनुसार भारतीय जनता पार्टीले आफ्नो सारा शक्ति बंगाल चुनावमा केन्द्रित गरिरहेकै वेला वर्तमान मुख्यमन्त्री ममता बनर्जीका अत्यन्त विश्वास पात्र ठानिएका नंदीग्राम निर्वाचन क्षेत्रका विधायक तृणमूल कांग्रेसका दोश्रो वरिष्ठ नेता एवम् मुख्यमन्त्री सुश्री ममता बनर्जी मन्त्रिमण्डलका मन्त्री शुभेंदु अधिकारी लगायतले वगावत गरी भारतीय जनता पार्टी प्रवेश गरी मुख्यमन्त्री बनर्जीलाई नंदीग्राम विधानसभा सिटमा लडन चुनौती दिए ।
मुख्यमन्त्री बनर्जीका लागि योभन्दा ठूलो राजनीति संकट कहिले देखिएको थिएन । भनिन्छ, करीव ४५ वर्ष अगाडि बंगाल राज्यका तत्कालीन कम्युनिस्ट पार्टीका नेता एवम् मुख्यमन्त्रीलाई भेट्न कलकत्तास्थित रोईटर्स बिल्डिंग (मुख्यमन्त्री निवास)मा भेट्न जाँदा सुरक्षाकर्मीबाट दुरब्यबहार भएपछि राजनीतिमा आएकी मुख्यमन्त्री बनर्जीले पार्टी नेता एवम् कार्यकर्ताहरूले आफ्नो सुरक्षित क्षेत्र भवानीपुरबाट नै लड्न आग्रह गर्दागर्दै पनि शुभेंदु अधिकारीले दिएको चुनौतीलाई सहर्ष स्वीकारिन् । किनभने तृणमूल कांग्रेस र ममता बनर्जी स्वयंको राजनीतिकको उठान सन् २००७ मा सिंगुर, नंदीग्राममा टाटा कम्पनीले न्यानो कार उत्पादनको लागि तत्कालीन कम्युनिस्ट सरकारले किसानहरूको जमीन अधिग्रहण गर्ने भएपछि किसानको पक्षमा जवरजस्त आन्दोलन गरिन् । सयौँ किसान मारिए ।
आखिर सिंगुर, नंदीग्राममा टाटा कम्पनीले न्यानो कार उत्पादनको योजना रद्द गर्नु प¥यो । त्यस घटनापछि २००९ मा भएको लोकसभा निर्वाचनमा तृणमूल कांग्रेसले प्रचण्ड सिट लियो । सन् २०११ मा भएको विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसले २९४ सिटमध्य २२१ सिट जितेर ३४ वर्षदेखि शासनमा रहेको कम्युनिस्ट सरकारका अन्तिम मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कम्युनिस्ट सरकार ढाली ममता बेनर्जी पहिलो महिला मुख्यमन्त्री बनिन् ।
२०१६ को विधानसभा निर्वाचनमा २११ सिटसहित हालसम्म शासन गर्दै आएकी छिन् । उनले आफू सुरक्षित ठाउँबाट लड्दा पार्टी पराजित हुन सक्ने प्रबल सम्भावना देखिन, किनभने आफ्नो प्रभाव क्षेत्र रहेको ताकतवर नेता भारतीय जनता पार्टी प्रवेश गरेपछि आफू जित्न भन्दा पार्टी जिताउन ठूलो जोखिम लिइन् र भनिन्, ‘भूल सकती हुँ मेरा नाम, भूल नहीं सक्ती नंदीग्राम ।’ उनले बंगालको संस्कृति र सम्मानलाई प्रमुख मुद्धा बनाइन् । उनी बंगालमा ‘स्ट्रीट फाइटर’ र ‘दिदी’को नामले प्रख्यात छिन् ।
भारतीय राजनीतिक विश्लेषकहरू तृणमूल कांग्रेस र भारतीय जनता पार्टीबीच कडा टक्कर हुने र तृणमूल कांग्रेस हार्न पनि सक्ने अनुमान लगाइरहेका थिए । अन्ततः आइतबार गणना भएको मतगणनाको परिणामअनुसार ममता बनर्जीको तृणमूल कांग्रेसले २९२ सिटमा भएको परिणाममध्य २१६ सिटमा जितिकि छिन् । ममता बनर्जी भने नंदीग्रामबाट पराजित भएको भनिएको छ । पहिला १२०० मतले जितेको भनियको । केहीबेरपछि १९५६ मतले हारेको भनिएकोले पुनः मत गणनाको लागि अनुरोध गरेको खबर छ ।
तृणमूल कांग्रेसमा एकक्षत्र प्रभाव राख्ने पार्टी सुप्रीमो उनले आफ्नो भन्दा पार्टीको सफलतालाई प्राथमिकता राखे । भारतमा उनको यस निर्णयलाई उच्च सम्मानका साथ हेरिएको छ ।
मेरो भारतीय राजनीतिको आन्तरिक मामलामा भन्नु केही छैन । यो शुद्ध भारतीय जनताले रोज्ने कुरा हो । तर, मैले भन्न खोजेको के भने, के हाम्रा नेताहरूले पार्टी र देशहितको लागि ममताले जस्तै जोखिम लिन्छन् वा आफ्नो राजनीतिक सुरक्षित गर्न जस्तो सुकै कु–कर्म गर्न तयार हुन्छन् ? प्रश्नको उत्तर आमजनता खोज्दै छन् ।
(लेखक रोमी गौचन थकाली पूर्वमन्त्री समेत हुन् । पराष्ट्र मामिलामा उनको दख्खल छ ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया