प्रधानमन्त्री हुँदा विश्वको ध्यान तानेको वीपीको यो तस्बिर र सन्दर्भ
मनीषा कोइरालाजीले सामाजिक संजालबाट वीपी कोइरालाको यस तस्बिर सार्वजनिक गर्नुभएपछि मलाई यो तस्बिरको सन्दर्भ यहाँ उल्लेख गर्न मन लाग्यो ।
यो तस्बिर वीपी कोइराला प्रधानमन्त्री हुँदाको बखतको हो । सन् १९५९ को अक्टोबर महिनाको अन्तिम दिनको हुनुपर्छ । २००७ सालको क्रान्तिका नायक, राणा शासनको अन्त्यपछि निर्वाचन नहुँदासम्मको ८ वर्षको अवधिसम्म जनमानसमा व्यापक लोकप्रियताका बाबजुद समेत प्रधानमन्त्री हुन नपाएका र मुलुकमा सम्पन्न पहिलो आमनिर्वाचनबाट अभुतपूर्व बहुमत हासिल गरि प्रधानमन्त्री बनेका वीपी कोइरालाप्रति त्यतिबेला अन्तर्राष्ट्रियस्तरबाट समेत निकै चासो थियो । काठमाडौंबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएटेड प्रेस (एपी) ले यो तस्बिरसहित संवाददाता हेनरी एस. ब्राडशेरले तयार गरेको समाचार सम्प्रेषण गरेको थियो । ०१–नोभेम्बर–१९५९ का दिन उक्त एजेन्सीमार्फत खबर छाप्ने संसारभरका अखबारहरूले पहिलो पटक यस तस्बिरसहित समाचार प्रकाशित गरेका थिए । तीमध्येका केहीका समाचार शीर्षकहरू यस्ता थिए । ‘From Feudal Monarchy to Modern Democracy’ , ‘Premier of Nepal Tries to Transformed Feudal Monarchy’ , ‘One Man Handles Nepal attempt to Modern States.’
यो तस्बिर प्रधानमन्त्रीको आवास अझ उनको शयनकक्षमा रहेको उनको आफ्नै विस्ताराको हो । ४४ वर्षीय उर्जावान युवा प्रधानमन्त्री कोइराला विस्तारामा नै बसेर चिया नास्ता लिँदै मन्त्रिपरिषदका केही कागजातहरू राखेर त्यसमा केही काम गरिरहेको जस्तो देखिन्छ । घाँटीमा सेतै मफलर, जिउमा सेतो कमिज र सेतै शुरुवालसहित अति साधारण किसिमको नेपाली मौलिक पहिरन लगाएका प्रधानमन्त्री वीपी कोइरालाको तस्बिर हेर्दा कुनै अस्पतालका युवा प्रशिक्षार्थी जस्तो देखिन् भन्ने समाचार टिप्पणी थियो ।
प्रजातन्त्रका लागि आजीवन संघर्ष गरेका प्रजातान्त्रिक योद्धा वीपी कोइराला सादगी जीवनका पर्याय थिए । प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ उनले प्रधानमन्त्रीको मासिक तलब २५०० रुपियाँबाट घटाएर १५०० रुपियाँ बनाएका थिए । माथीको उनको तस्बिरमा त्यतिबेलाका मुलुकका कार्यकारी प्रधानमन्त्रीको अत्यन्तै सादगी जीवनशैली देखिन्छ । उनको सरकारले आर्थिक मितब्ययिता व्यबहारमा नै अपनाएको थियो ।
राजाले सत्ता हातमा लिँदा भ्रष्टाचारको आरोप लगाए पनि पछि उनले त्यसको छानविन गर्ने मुद्दा दायर गर्ने नगरेकाले त्यो फगत राजनीतिक आरोप मात्र थियो भन्ने देखिन्छ । आजको दिनमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबैभन्दा अभाव देखिने नै यही साधारण जीवनशैलीको हो । यहाँ अचेल सर्वत्र असाध्यै विलासीता र तडकभडक देखिन्छ । आर्थिक मितब्यिता भन्ने शब्द त नेपाली राजनीतिको शब्दकोषबाट नै हराइसकेको छ ।
उक्त समाचारमा वीपी कोइरालाको राजनीतिक जीवन यात्राको समेत चर्चा थियो ।
त्यसबाहेक समाचारको अन्य सार भने यस्तो थियो
नेपाललाई सामन्ती राजतन्त्रदेखि आधुनिक प्रजातान्त्रतर्फ बदल्नका लागि एक ब्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ । उनी हुन प्रथम जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री वीपी कोइराला । वीपी कोइराला भन्छन्, विदेशीहरूले हाम्रो नेपालका बारेमा जे जस्तो रोमान्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदैछ किनकी हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौँ । जसरी आर्थिक प्रगति हुनेछ त्योसँग तिमीहरूले सोंच्ने गरेको छवि धेरै हदसम्म हट्नेछ । हामीले अहिलेसम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौं ।
राजा महेन्द्रले प्रजातान्त्रिक संविधान र आम निर्वाचनमार्फत शुरु गरेको प्रजातान्त्रिक प्रणालीलाई अगाडि बढाउनका लागि प्रधानमन्त्री वीपी कोइरालाले काम गरिरहेका छन् । संसदमा वीपी कोइरालाको बलियो उपस्थिति छ । उनको दलमात्र मुलुकभर संगठन विस्तार भएको राष्ट्रिय संगठन हो । यिनले आर्थिक सामन्तवादको अन्त्य गरेर निम्नस्तरको जीवनस्तरलाई माथी उठाउने प्रयास गरेका छन् । चीन र भारतको बीचमा रहेको नेपालले असंलग्न नीति अपनाएर अन्तर्राष्ट्रिय मामिलामा आफूलाई उभ्याउने कोसिस गरिरहेको छ ।
एकजना विदेशी पर्यवेक्षकका अनुसार अहिलेसम्म त सबै प्रक्रिया राम्रोसंग अगाडि बढिरहेको छ । पछिल्लो निर्वाचनमार्फत घटिरहेको आफ्नो शक्तिलाई राजाले कहिलेसम्म र कति चाँडो स्वीकार गर्न सक्छन् त भन्ने मात्रै मुख्य प्रश्न हो ?
ती विदेशी पर्यवेक्षकले प्रश्न तेर्साए बमोजिम निर्वाचनमार्फत बनेको सदन र सरकारका कारण आफ्नो घटिरहेको शक्तिलाई राजाले धेरै परसम्म स्वीकार गर्न सकेनन् । १८ महिनामा नै सेनाको मद्दतमा संसद र सरकार भंग गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । संसदका सदस्य, सभामुखसहित नेपालमा रहेका मन्त्रिपरिषदका सबै सदस्यलाई राजाले जेलमा कोचे । आफूलाई सघाउने र आफ्नो कदमको पक्षमा उभिनेलाई रिहा गरे । केहीलाई आफ्नै नेतृत्वमा गठित मन्त्रिमण्डलमा सहभागी गराए भने बाँकीलाई लामै समय जेलमा राखे । उनी संवैधानिक राजा भएर बस्न चाहेनन् । कार्यकारी प्रमुख आफै भएर शासन गर्ने महत्वाकांक्षा उनमा बढ्दै गयो । सरकार लोकप्रिय भयो भने भोलि कतै आफ्नै अस्तित्व खतरामा पर्ने त होइन भन्ने अत्यन्तै छोटो सोंच राखे र मुलुकलाई अर्कै बाटोमा अगाडि बढाए ।
समाचार स्रोतः– अमेरिकी अखबार रिडिङ इगल ०१ नोभेम्बर १९५९
(सन्तोष खडेरीको फेसबुकबाटा साभार)
फेसबुकबाट तपाईको प्रतिक्रिया