यस्तो छ एमालेका युवा नेताको धन्दा, ओली–बस्नेतका खास मान्छेले शिर निहुरिने काम गरे
काठमाडौं । महानगरीय अपराध महाशाखाले ठगी गरेको अभियोगमा प्रमुख विपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य रुसिल कटुवाललाई पक्राउ गरेको छ ।
कटुवालसँगै ठगी काण्डमा रहेका मोरङका धिरजकुमार दाहाललाई पनि पक्राउ गर्न खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्लाको धरान उप–महानगरपालिका– ९ स्थायी ठेगाना भई हाल काठमाडौं– ३२ मा बस्दै आएका ३६ वर्षीय कटुवाललाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट पक्राउ नगर्नु भन्ने अन्तरिम आदेश लिएर बसेका थिए ।
उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
ठगी काण्डमा परेका मोरङको केराबारी गाउँपालिका– ६ स्थायी घर भई हाल काठमाडौं– १० बस्दै आएका दाहाल फरार रहेका छन् ।
कटुवाल र दाहालको समूहले नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका– २ स्थायी ठेगाना भइ हाल काठमाडौंको सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई ठगी गरेको प्रहरीले जनाएको छ ।
‘धिरजकुमार दाहालको नाममा रहेको मोरङको केरावारी गाउँपालिका– ६ (क) कि.नं. ६३८ को क्षेत्रफल ०–१–१० र कि.नं. ६४० को क्षेत्रफल ०–७–२–० को जग्गाहरू बिक्री गर्ने भनि जग्गाको मूल्य कायम गरी काठमाडौंको सुकेधारामा बसी बैना समेत गरी नगद लिएका थिए’, प्रहरीको विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल ईन्भेष्मेण्ट बैंक बत्तीसपुतली शाखा खाताको चेकबाट समेत रु. ६८ लाख ९० हजार रकम लिई उल्लेखित जग्गाहरू पास नगरी सम्पर्क बिहीन भएका थिए’, प्रहरीको विज्ञप्तिमा भनिएको छ ।
२०७७–०३–२० गते मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरूको नाममा बिक्री भइसकेको अनुसन्धानका क्रममा खुलेको छ ।
‘रुसिल कटुवालले ठगी गरेको हुँदा विपक्षीहरूमध्ये रुसिल कटुवाललाई पक्राउ गरी ठगी कसुरमा थप अनुसन्धान कार्यको लागि भदौ २९ गते महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
फरार रहेका धिरजकुमार दाहाल समेतलाई पक्राउ गर्न खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
एमालेका नेता महेश बस्नेतले खड्गप्रसाद ओलीको प्रधानमन्त्री पदको कुर्सी फुत्किएपछि काठमाडौंमा छिटफुट रुपमा उत्पात मच्चाइरहेका बेला उनकै युवा संघका केन्द्रीय सदस्य ठगीधन्दामा पक्राउ परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया