सीआईबीद्वारा खोटाङका खत्रीलाई काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार रहेका २६ वर्षीय खगेन्द्र खत्रीलाई पक्राउ गरेको छ ।

काठमाडौंको कपनस्थित बालुवाखानीमा बस्दै आएका खत्रीलाई सीआईबीको टोलीले मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । खत्रीको स्थायी घर खोटाङ जिल्लाको खोटाङ गाउँपालिका–३ मा पर्छ ।

उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा खत्रीलाई ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपियाँ जरिवाना सुनाएको छ ।

खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

खत्रीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

Published : Tuesday, 2021 September 28, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया