२५ र ६५ करोडमा कमल थापाले ‘गाई’लाई बेचेको खुलासा
रमा सिंह
कमल दाजु,
पाथीभरा माताले पनि हेरिनन्
एउटा खेलाडीको नाताले बिक्रम संवत २०४० सालमा तपाईलाई फुटबलको मैदानमा चिन्दा तपाईको ब्यवहार, बिचार र कार्यशैली नै तपाईको सफलताको सिंढी बनेको भन्ने ममा रहेको विश्वास ३८ वर्षपछि गर्ल्याम गुर्लुमै ढल्यो ।
नेपालमा खेलकुदको संस्थागत विकासका प्रणेता स्वर्गीय शरदचन्द्र शाहाको छहारी र विकास, अनुशासन, गतिशीलताको अनुशासित लक्ष्य बोकेको खेल क्षेत्रमा आफ्नो ब्यक्तित्व विकास गर्ने अवसर पाउनु भएकोले पनि बढि निष्ठावान र अनुशासित जीवन शैली अपनाउनु भएको होला भन्ने ठानेका म जस्ता धेरैलाई निर्वाचन परिणामपछिको ब्यवहारले तपाईप्रतिको धारणा परिवर्तन गर्न स्वयं तपाईले नै बाध्य पारिदिनु भो । यसका लागि तपाईलाई बधाइ दिन चाहन्छु ।
राप्रपाको निर्वाचन अघि र परिणामपछि उल्लेख गर्नु भएको प्रसंग सन्तोष पन्तजीको प्रहसनभन्दा पनि रोचक बन्यो । निर्वाचन अघि ‘राजाको मलाई साथ छ’ भनेर राजाको सचिव सागरप्रसाद तिमिल्सिनाको नाम भजाएर प्रचार प्रसार गर्ने । तर, परिणाम ‘हात लाग्यो शून्य’ भएपछि ‘राजाले मलाई हराए’ भनेर धारेहात लगाउने चरित्रलाई राजनीति शास्त्रका विद्यार्थीले अध्ययनको विषयबस्तु बनाए पनि, नबनाए पनि, दशकौं पहिले आफ्नै पार्टीको सरकार ढाल्न गर्नुभएको योगदान पछि राजनीतिमा मुसो प्रवृतिको विकास भयो भनेर लोकेन्द्रबहादुर चन्दले सार्वजनिक घोषणा नै गर्नुभएको प्रसंगले राप्रपाफेरि तरंगित भएको छ ।
निर्मल निवासले चुनाव गराउने, जिताउने र हराउने गर्छ भन्ने महाज्ञान हुँदाहुँदै अधिवेशन किन गराइरहेको ? ‘निर्मल निवासको मलाई आशीर्वाद छ ठोको ताली’ भनेको भए तररररर… ताली बजी हाल्थियो ! यत्रो रोदन, क्रन्दन किन ?
भोट त निर्मल निवासका ढोके, हुक्के, बैठकेले पक्कै हालेनन् ! तपाईकै ४६०० महाअधिवेशन प्रतिनिधिले नै हालेका हुनाले मेरै कार्यकर्ताले मलाई किन हराए ? स्वमूल्याकंन पनि गर्ने कि ?
हिन्दूराष्ट्र र राजसंस्थाको मुद्धा बोक्ने ‘शनै शनै घस्कन्ते मन्त्री पदेन कुशलन्त भव’भन्दै गणतन्त्रमा रमाउने छद्मभेषको पर्दा खुलेपछिको भंगेरे चित्तले अग्लिएको उचाइँ ढलेको मात्रै हो सुध्रिने बाटो टुटी सकेको भने छैन ।
हिन्दूधर्म र राजसंस्थाको मुद्धा बोकेकै कारण एक निर्वाचनमा ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको सदुपयोग भयो ? भएन ? किन भएन ? २५ सिट २५ करोडमा लिलाम बढाबड भएको खबरको चर्चा चलेकै हो ।
संविधान सभाबाट संविधान अनुमोदन हुन नदिन मधेशवादी दलले बहिस्कार गर्दा राप्रपाका २५ जनाले लुरूलुरू संविधानमा ल्याप्चे त त्यसै लगाएका थिएनन् ? त्यहाँ पनि ६५ करोडको गिन्ती गराउँदै राष्ट्रसंघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको प्रशस्ती गाउन पुग्दाको परिणती पनि हो कि यो चुनावी परिणाम ?
हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राष्ट्रपतिको प्रस्तावक र समर्थक बन्दै बेग्लै बिचारधाराका ३ प्रधानमन्त्रीको कार्यकालमा उपप्रधानमन्त्री बन्दै जाने कार्यशैलीले गर्दा २०७४ सालको निर्वाचनमा जनताले २५ बाट १ मा झारे ।
त्यति बेलानै जनताले चुनाव त हराएकै हुन् नि त्यो बेला राजाले चुनाव हराए भन्ने ज्ञान किन आएन ? २५ सिटको उन्मादपछि कार्य समितिको बैठकमै – ‘राजा राजाभन्दै हिँड्ने हामी भजन मण्डली हौँ र ?’, ‘हामीले राजसंस्था भनेका हौँ पूर्व राजा भनेका हैनौँ’, ‘राजाले राप्रपा फुटाउने खेलमा लागे यसको मूल्य महँगो पर्न सक्छ’ भन्ने जस्ता सानो चित्त र तुच्छ बिचार आफ्नै अजेण्डामाथि व्यक्त गर्दै हिँड्नु नैतिकताको पराकाष्ट भन्दै धेरैले राप्रपा परित्याग गरेको बिर्सनु भएको पक्कै छैन होला ?
आफू बाहेक अरूलाई सुन्दर नदेख्ने आनीबानीले स्वयम् अलोकप्रिय दलदलमा भासिने क्रममा राजनीतिका अग्रजहरूलाई ‘अल्छी बुढो घोडा’ र युवालाई ‘आला काँचाहरू – टुँडीखेलमा दौड’ जस्ता अभिव्यक्तिले तपाईलाई ‘म शून्यमा शून्यसरी हराए’ नबनाउला भन्न सकिन्न ।
इमान र निष्ठाको राजनीति गरेको भए पाथीभरा माताको शरणमा जब्बरजस्ती अरूलाई उभ्याएर कसम खुवाउने दुष्चरित्र पनि देखा पर्दैन थियो कि ? तर, के गर्नु पाथीभरामाताले पनि पूर्वेली लिम्बुको सत्य र निष्ठाको परख गरिन् ।
किन निर्मल निवासतिर मात्रै धारेहात लगाउनु हुन्छ ? उनै पाथीभरा मातालाई पनि धारेहात लगाउने कि ? (रमा सिंहको फेसबुकबाट साभार)
फेसबुकबाट तपाईको प्रतिक्रिया