प्रेस काउन्सिलमा बस्नेत, युवा अनुहार, पाको कार्यशैली
शंकर रोक्का
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नोत्तर’ कविताको यो हरफजस्तै रह्यो उहाँको सपना र उद्देश्य पनि । र त सानैदेखि उच्च लक्ष्य बोकेर अनवरत रूपमा अघि बढिरहनुभयो । भगवान्ले पनि भन्छन् रे– ‘तँ आँट् म पुर्याउँछु ।’ हो, यस्तै भयो उहाँको हकमा । बिहानीले दिनको संकेत गर्छ भनेझैं सुरुबाट अहिलेसम्म नै उहाँले आफ्नो अधिकांश सोच साकार तुल्याउनुभएको छ । उहाँको हकमा त्यति गहिरिएर परिचय दिइरहनुपर्दैन– पेशा नै काफी छ । अझ सञ्चारक्षेत्रसम्बद्ध व्यक्ति–संस्थाले त उहाँको नाम नलिई धरै छैन । यस अर्थमा अधिकांशको मनमस्तिस्कमा बस्नुभएको छ । यसैको परिणाम निःस्वार्थ गन्तव्यतर्फको यात्रालाई विधागत क्षेत्रमा अझै अघि बढाउँदै थप सफलताको शिखरतर्फ लम्कँदै हुनुहुन्छ । लगनशील, सिर्जनशील, कर्तव्यनिष्ठ, स्पष्ट–अब्बल सोच, हक्की स्वभाव, सहयोगी भावना, आफ्नो पेशागत क्षेत्रमा पोख्त, प्रतिभाशाली व्यक्तित्व वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको साझा परिचय यही हो ।
बालकृष्णको परिचय यतिमै सीमित छैन– बहुआयामिक र फराकिलो छ । धेरै प्रकाशमा नआएको पक्ष उहाँ एउटा कुशल अधिवक्तासमेत हुनुहुन्छ । अर्को रोचक पाटो के हो भने उमेरका हिसाबले छ दशक हाराहारीका ख्यातिप्राप्त व्यक्ति पुग्ने प्रेस काउन्सिल नेपालको नेतृत्वमा यसपटक उहाँले ह्वात्तै फड्को मार्नुभएको छ । सरकारले सर्वोच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता र वरिष्ठ पत्रकारमध्येबाट काउन्सिलको अध्यक्ष नियुक्त गर्दै आएको ५२ वर्षे इतिहास छ । तर, करिब सात महिनाअघि केपी ओलीनेतृत्वको सरकारले त्यो परम्परामा ‘ब्रेक थ्रु’ गर्यो । ४३ वर्ष उमेर टेकेका जुझारु युवा पत्रकार बालकृष्णलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि नेपाली सञ्चारक्षेत्रमा ठूलै हंगामा मच्चियो । कानुनमा पनि सर्वोच्चका पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति काउन्सिलको अध्यक्षमा योग्य हुने उल्लेख छ । यही मापदण्ड अपनाउँदा पत्रकारितामा विशिष्ट योगदान पुर्याएको भन्दै बालकृष्ण रोजाइमा पर्नुभएको हो । उसो त उहाँको सुरुको अध्ययन पनि त कानुन नै हो । अधिवक्ताको इजाजत लिएको नै १८ वर्ष पुगिसकेको छ । तर, उहाँको चिनारी अधिवक्ताभन्दा बढी पत्रकारकै रूपमा छ । विक्रम सम्वत् २०५२ मा छलफल साप्ताहिक हुँदै लामो समय कान्तिपुर पब्लिकेशनसम्मको पत्रकारिता यात्रामा रहनुभयो बालकृष्ण । प्रेस काउन्सिलमा नियुक्त हुनुअघि भने नेपाल टेलिभिजनको बोर्ड सदस्य रहे पनि आफूसहितको संलग्नतामा सञ्चालित खुला नेपाल मिडियामा समेत आबद्ध रहनुभएको कसैबाट छिपेको छैन ।
नेपाली सञ्चारक्षेत्रको नियामक निकायको सर्वोच्च पदमा उहाँको नियुक्ति एक किसिमको परीक्षा नै हो, खासगरी युवा पुस्ताका लागि । बालकृष्ण स्वयंका लागि त हुने नै भयो । नियुक्तिलगत्तै धेरै सञ्चारकर्मीले दिएको शुभकामना/बधाईले उहाँलाई झन उत्प्रेरित गरायो । कति त ‘यो तिम्रो मात्र होइन– हाम्रो पुस्ताको समेत नियुक्ति हो । तिमी सफल हुनु हाम्रो पनि सफलता हो । असफल भए हाम्रो पुस्ताको असफलता हो’ भन्दै बधाइ बर्सियो । कतिपयले ‘सधैं पेन्सन खाने बूढाखाढा जाने ठाउँ होइन त्यो, आराम गर्न पठाउने पनि होइन । हामी युवा पुस्तासमेत पुग्ने ठाउँ हो । तपाईंलाई नियुक्ति गरेर सरकारले सही निर्णय गरेको छ । काम देखाउनुहोला’ भनी बधाई दिए । यस्ता प्रतिक्रियालाई ऊर्जाका रूपमा लिँदै बालकृष्णले नेपाली सञ्चारक्षेत्रको बृहत् विकासमा काउन्सिललाई चलायमान गराइरहनुभएको छ । अनलाइनलाई व्यवस्थित गर्नेदेखि पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा हुबहु चोरी गरेर समाचार दिने, बार्गेन गरेर समाचार लेख्नेमाथि कारबाही चलाउनेसम्मको उहाँको नेतृत्वको समूहले प्रशंसनीय काम गरिरहेको छ ।
विविध कारणले विगत तीन वर्षदेखि हुन नसकेको पत्रपत्रिकाको वर्गीकरणसमेत काउन्सिलले हालै सार्वजनिक गरेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विवादरहित तरिका तथा विनापूर्वाग्रह सन्तुलित ढंगले नतिजा प्रकाशन भएको भन्दै बालकृष्ण र उहाँको समूहको तारिफ पनि भइरहेको छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्नसमेत काउन्सिलले विभिन्न नीतिगत सुझावको तयारी गरेको छ भने पत्रकारको आवरणमा समाजमा बेथिती ल्याउने सबैखाले प्रवृत्तिलाई सूक्ष्म ढंगले अध्ययन गरी रोक्ने प्रयास गरिरहेको छ । फेसबुक, ट्वीटर, टीकटक, युट्युबजस्ता सञ्जालले गरेका कतिपय गलत क्रियाकलापमाथि प्रश्न उठाई उचित कारबाहीका लागि सम्बन्धित निकायलाई सचेतसमेत गराइरहेको छ ।
मध्यम पृष्ठभूमि, सरल व्यवहार
कम बोल्ने, सबैलाई सम्मान र सबैसँग समान अनि सरल व्यवहार गर्ने बालकृष्णको पहिचान हो । वर्षौंदेखि संगत गरेका कसैलाई पनि नबिझाउने व्यक्तिका रूपमा चिनिन्छ् बालकृष्णलाई । हसमुख र तार्किक प्रस्तुति हुन्छ उहाँको । सके अरूका लागि राम्रो गर्ने, भलो चिताउने, नराम्रो कामको बाटो नै नलाग्ने जीवन सिद्धान्त छ । उहाँले सानैमा पढ्नुभएको पृथ्वीनारायण शाहको भनाइ ‘जाई कटक नगर्नु, झिकी कटक गर्नु’ लाई बालकृष्ण अत्यन्त मन पराउनुहुन्छ । बालकृष्णको जन्म २०३४ मा दोलखा जिल्लाको साबिक माटी गाउँ पञ्चायत (हाल भीमेश्वर नगरपालिका–५)मा रामबहादुर बस्नेत र देवकुमारीका पाँचमध्ये कान्छो सुपुत्रको रूपमा भएको हो । उहाँका दाइहरू अर्जुन, भीमसेन, नकुल र सहदेव हुनुहुन्छ । गाउँमा मध्यम परिवार, टन्नै खेतीबाली, उब्जनी हुने ठाउँ हो उहाँको जन्मथलो । त्यस्तै चार वर्षको उमेरमा बालकृष्णलाई गाउँकै श्री विसुन्टोल प्राथमिक विद्यालयमा भर्ना गरियो । कक्षा १ देखि ५ सम्म अध्ययन गर्नुभयो त्यहाँ । त्यसपछि कक्षा ६ मा जम्मा एक वर्ष उहाँले काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने अवसर पाउनुभयो । सोही वर्ष उहाँ पहिलोपटक ‘सपनाको शहर’ काठमाडौं छिर्नुभएको हो ।
रामशाहपथपरिसरमा रहेको सेनाको एमटी ब्यारेकभित्र पितासँग बस्नुहुन्थ्यो बालकृष्ण । बुबा त्यतिबेलाको शाही सेनाको सुवेदार मेजर पदबाट २०४३ मा अवकाश पाएपछि गाउँमै फिर्नुभयो । बुबाको जागिरे जीवन सकिएकाले बालकृष्ण काठमाडौंमा धेरै बस्न पाउनुभएन । गाउँ फर्किएपछि भने उहाँ सदरमुकाम चरिकोटस्थित श्री कालिञ्चोक माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना हुनुभयो । विहान–बेलुका घरायसी काममा सहयोग पु¥याउँदै अन्ततः २०४९ मा त्यहाँबाटै एसएलसी पास गर्नुभयो । विद्यालय पढ्दा किताबी किरो हुनुभन्दा बाहिरी ज्ञानबारे अभिरुचि बढ्यो बालकृष्णको । त्यसैले त विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापहरू हाजिरीजवाफ, वादविवाद, हिज्जे, वक्तृत्वकला आदिमा बढी रुचि जाग्यो । ‘उतिबेला सदरमुकाम र विद्यालयमा भेटिने गोरखापत्र र अन्य प्रकाशन, चना–बदाम किनेर खाँदा बेरिएका कागजमा छापिएका सामग्रीमा निकै ध्यान जान्थ्यो’ बालकृष्ण स्मरण गर्नुहुन्छ ।
पत्रकारितामा पहिलो पाइला
त्यसो त कालिञ्चोक माविकै एक शिक्षक हुनुहुन्थ्यो– दोलखाका पुराना पत्रकार देवदास श्रेष्ठ । उहाँ लामो समय राष्ट्रिय समाचार समितिमा जिल्ला समाचारदाताको रूपमा रहनुभयो । एक दिन श्रेष्ठले आफ्नो पर्सबाट पत्रकार परिचयपत्र देखाई भनेको प्रसंगले बालकृष्णको बाल मस्तिस्कलाई बेजोडले सोच्न बाध्य बनायो । उतिबेला श्रेष्ठसँगको उक्त प्रसंग सम्झँदै बालकृष्ण भन्नुहुन्छ– ‘७ कक्षामै पढ्दाको कुरा हो । कक्षा सकेर देवदास सर कहाँ केही विद्यार्थी पुगेका थियौं । उहाँले आफू पत्रकार पनि भएको भन्दै पर्सबाट कार्ड झिक्नुभयो । हेर केटा हो । यो पत्रकारको कार्ड हो । पत्रकार सबै ठाउँमा पुग्न सक्छ । मन्त्री, प्रधानमन्त्रीलाई पनि भेटेर प्रश्न सोध्न सक्छ । भन्दै हामीलाई सरले उत्साहित भावमा सुनाउनुभयो । मलाई सरको त्यस भनाइले पहिलोपटक पत्रकारको तागतबारे बुझायो ।’ त्यस्तै, काठमाडौंबाट दाइहरु अर्जुन र भीमसेनले गाउँ फर्कंदा विज्डम, रिडर्स डाइजेष्ट अन्तर्राष्ट्रिय मञ्च, युवामञ्च, रंगमञ्चजस्ता बोकेर जानुहुने रहेछ । गाईबाख्रा चराउन जाँदा बालकृष्ण भने तिनै पत्रिका च्यापेर जाने गर्नुहुने रहेछ । ‘त्यतिबेला पाइने सानो चाइनिज गोजी रेडियो र दाइहरुले लगेको पत्रिका सुन्ने अनि पढ्ने मेरो आदत नै थियो । घरमा खाली समय र जंगलमा गाइबाख्रा चराउन जाँदा मेरो साथीभाइ त हुन्थे नै । सँगै रेडियो सुन्ने र ती पत्रिका एकै हरफ पनि नबिराइ पढ्ने गर्थें । विद्यालयका पुस्तकमा नपाइने कैयौं कुरा त्यहीँ भेट्थेें’ उहाँ अतीत नियाल्नुहुन्छ ।
प्र्रसंग २०५० को हो– एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि बालकृष्ण दोस्रोपटक काठमाडौं पस्नुभयो । के पढ्ने भन्नेमै अन्योल हुँदा उहाँलाई एक दिन दाइ अर्जुनले कोठामा नयाँ कुरा सुनाउँदै भन्नुभएछ– ‘हेर केटा, सोर्सफोर्स लगाएर अरू कलेजमा नाम निकाल्ने होइन । त कानुन पढ् अब । नेपाल ल कलेजमा फर्म भर्दिएको छु । राम्रो हुन्छ ।’ अभिभावकले भनेपछि राम्रै हो भन्ने लागेर कानुन अध्ययनतिर लाग्नुभयो बालकृष्ण । काठमाडौंमा बसेर पढ्न पारिवारिक रूपमा उहाँलाई खासै गाह्रो थिएन । गाउँमा बुबाको राम्रै पेन्सन आउँथ्यो । खेतीपातीबाट गाउँका अरू पनि आश्रित हुन्थे । कमाइ ठीकै हुन्थ्यो । उहाँलाई घरबाट मासिक २/३ हजार सजिलै पठाउन सक्ने स्थिति थियो । यद्यपि अर्काको परिश्रममा होइन– आफै केही गर्नुपर्छ । आफ्नो सीप र परिश्रममा बाँच्न सके सफलता मिल्छ भन्ने बालकृष्णको सानैदेखिको सिद्धान्त हो । बदाम पोको पारेको कागज त पूरै पढिसिध्याउने उहाँलाई कस्तो संयोग पर्यो भने त्यतिबेला गाउँकै एक अग्रज काठमाडौंमा पत्रिकाको थोक व्यापार गर्नुहुँदो रहेछ । उहाँलाई जस्तो भए पनि त्यहीँ काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । गोरखापत्र, कान्तिपुरजस्ता दैनिक पत्रिका र अन्य साप्ताहिक, मासिक पत्रिकाको खुब बजार थियो उतिबेला । ‘म त्यहीँ काम गर्न थालें । पैसा त थोरै हुन्थ्यो । तर, पैसाभन्दा पनि सबै पत्रिका दिनभरि निःशुल्क पढ्न पाइन्थ्यो । मज्जा लाग्थ्यो’ उहाँ सुनाउनुहुन्छ ।
त्यसको केही समयपछि बालकृष्णले नयाँ बानेश्वरको एक कारखानामा मजदुरी पनि गर्नुभयो । छोटो अवधिमै त्यहाँ उहाँले धेरै पाठ सिक्नुभयो । घर जाँदा बुबाले उहाँलाई सधैं मासिक खर्च लैजा, लाज नमान भन्नुहुँदो रहेछ । ‘मचाहिँ पैसा लिनै नमान्ने । एक त घरमा बुबालाई पनि गाह्रो होला भन्ने लाग्ने, अर्को दुःखसुख काम गरेकै छु किन माग्नुजस्तो लाग्ने । बुबाबाट नलिए पनि आमाको मन नमान्ने रहेछ । तँ यस्तो नभन् न कान्छा, काठमाडौंमा कति दुःख गर्छस् भनेर मलाई घर गएको बेला आमाले जबर्जस्ती हजारका दुईतीनवटा नोट गोजीमा हाल्दिनुहुन्थ्यो’ बालकृष्ण विगतका ती क्षण स्मरण गर्दै भावुक बन्नुहुन्छ– ‘मलाई त्यो दिन अहिल्यै जस्तो लाग्छ । आमाको मन न हो, किन मान्थ्यो र ?’
कानुनको पढाइ त चलिरहेकै थियो । एक दिन दोलखाका पत्रकार बलराम थापासँग बालकृष्णको भेट भयो । अनामनगरस्थित वरिष्ठ पत्रकार गोपाल थपलियाद्वारा प्रकाशित/सम्पादित छलफल साप्ताहिकमा आबद्ध हुने सल्लाह भयो । छलफलको सहप्रकाशन ‘पौरख’ मासिक बन्द थियो त्यतिबेला । बलराम थापाकै नेतृत्वमा फेरि निस्किने भयो ‘पौरख’ । ‘पौरख’ केही समय राम्रै चल्यो । लगत्तै उहाँ ‘छलफल’मा पूर्णकालीन रूपमा जोडिनुभयो । त्यतिबेला छलफल, विमर्श, देशान्तर, दृष्टिजस्ता साप्ताहिक पत्रिका अहिलेका दैनिकभन्दा बढी बेचिन्थे । त्यतिबेला समाचार संकलन, सम्पादनदेखि पत्रिकाको व्यवस्थापनसम्मका काममा सबै जुट्नुपथ्र्यो । कनिष्ठ सदस्यका रूपमा बालकृष्णले त्यो दुःख गर्नुपथ्र्यो नै । तलब थियो महिनाको जम्मा आठ सय । पत्रकारिता सुखको पेशा होइन । पैसा कमाइ पनि हुने होइन । तर, उहाँ भने रमाउन थाल्नुभयो । पैसा कमी कहिले लागेन । २०५२ ताका बागबजार, अनामनगर, बबरमहल उहाँले निकै चहार्नुभएको छ । बागबजारमा इन्द्रेणी छापाखानामा छलफल छापिन्थ्यो ।
आइतवार छापिने पत्रिकाका लागि शनिवार पूरै सामग्री तयार हुन्थ्यो । गोपाल थपलियाका नेतृत्वमा शनिवार गोकुल बाँस्कोटा, प्रमोद दाहाल, केशव खनाल, राजेन्द्र अर्याल, उपेन्द्र केसी, गणेश बस्नेत, नवीन कार्कीसम्मको समूहमा उहाँ सामेल हुनुहुन्थ्यो । ‘कति रात त शनिवार छापाखानामै कागजको डंगुरबीच बिताउनुपथ्र्यो । चना र चिउराका भरमा दिनरात बितेका पनि छन् । त्यो बेला सम्झँदा अहिले आफैंलाई अनौठो लाग्छ’ बालकृष्ण गर्व गर्नुहुन्छ । छलफलमा काम गर्दागर्दै दोलखा जिल्ला केन्द्रित भएर विकासमूलक पत्रकारिता गर्नुपर्छ भन्ने लाग्यो उहाँलाई । अनि आफैं प्रकाशक/सम्पादक भएर २०५४ मा ‘दोलखा टुडे’ मासिक पत्रिका चलाउन थाल्नुभयो । नेपाल पत्रकार महासंघ दोलखामा उहाँहरुकै पहलमा दोलखा शाखा गठन भयो । २०५५ मा महासंघको दोलखा शाखाबाट संस्थापक केन्द्रीय पार्षद (हाल सभासद्) समेत चुनिनुभयो । सोही आसपासमा ‘सगरमाथा टाइम्स’ मासिकको पनि सम्पादक भएर एक वर्ष काम गर्नुभयो । यस्तै उतारचढावका बीच बालकृष्णले कानुन अध्ययनपछि पत्रकारिता र राजनीतिशास्त्रमा समेत स्नातकोत्तर तह पूरा गर्नुभएको छ ।
कान्तिपुरमा ‘इन्ट्री’
पत्रकारिताप्रति रस पस्दै गएपछि बालकृष्णलाई ठूलो मिडियामा पसेर व्यावसायिक पत्रकारिता गर्ने भित्री इच्छा पलाउन थाल्यो । २०५६ को सुरुमै उहाँले कानुन विषयमा स्नातक सक्नुभएको थियो । उता पत्रकारितामा भिजेको पनि पाँच वर्ष बितिसकेको थियो । आफ्नै लगानीमा सम्पादक भइसक्दा पनि आफैंलाई अब्बल पत्रकारजस्तो चाहिँ लागेन । किन त ? उहाँ स्पष्ट पार्नुहुन्छ– ‘कारण के भने न मेरो पत्रकारिताको अध्ययन थियो, न तालिम । अनुभवचाहिँ बटुल्दै थिएँ । चाहना भने ठूला मिडियामा काम गर्ने पलाइसकेको थियो । अनि मैले आफूलाई परिपक्व कसरी बनाउने भन्नेतिर लागें ।’ उतिबेला कान्तिपुर पब्लिकेशनको असाध्यै बजार र क्रेज थियो । त्यहाँ छिर्नमात्रै पाउनु पनि ठूलो अवसर मानिन्थ्यो । पत्रकारिताका लागि कि त आरआर क्याम्पसबाट सम्बन्धित पढाइ सक्नुपथ्र्यो, कि त नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)को एकवर्षे तालिम सक्नुपथ्र्यो ।
अझ ती दुवैमा राम्रो अंक ल्याउनेले कान्तिपुरलगायतका राम्रा मिडियामा इन्टर्न गर्ने मौका पाउँथ्यो । कानुनमा स्नातक सकेपछि फेरि आरआरमा पत्रकारिता पढ्नु व्यावहारिक थिएन । उहाँ त्रिपुरेश्वरमा रहेको एनपीआई पुग्नुभयो र एक वर्षे कोर्समा तालिम लिन थाल्नुभयो । मनोज दाहाल, गणेश राई, सुरेन्द्र उप्रेती, भावना शर्मा, रामकला खड्का, कृष्णप्रसाद गौतमसहित उहाँका ब्याजी हुनुहुन्थ्यो । व्यावहारिक ज्ञानका लागि सबै मिलेर एक पत्रिका निकाल्नुपथ्र्यो । साथीहरुले त्यसको सम्पादक बालकृष्णलाई नै हुन आग्रह गरे । त्यहाँ उहाँकै नेतृत्वमा एउटा नमुना साप्ताहिक पत्रिका पनि निस्कियो । दुःख गरेर पढेअनुसार सो ब्याजको उहाँ टपर हुनुभयो । टपर विद्यार्थीलाई कान्तिपुरले इन्टर्नमा नलिने कुरै थिएन । आफंै प्रकाशक÷सम्पादक भएर स्थानीय स्तरको पत्रिका चलाइसक्नुभएका बालकृष्ण २०५६ को अन्त्यतिर कान्तिपुर दैनिकमा इन्टर्न गर्न दुई महिनाका लागि जानुभयो ।
त्यतिबेला कान्तिपुर र काठमाडौं पोष्ट दुवैको सम्पादक हुनुहुन्थ्यो– वरिष्ठ पत्रकार युवराज घिमिरे । छिमेकी भारतका प्रख्यात मिडिया र बीबीसी सेवामा काम गर्दागर्दै कान्तिपुर भित्रिनुभएका घिमिरेको निकै चर्चा हुन्थ्यो । विषयवस्तु छनौट, प्रस्तुति, सहकर्मीमाथिको व्यवहार, कार्यशैली र समाचार कक्ष व्यवस्थापन बेग्लै थियो । सबैमा घिमिरेको आगमनले उतिबेलाका कान्तिपुरकर्मीहरु नारायण वाग्ले, प्रतीक प्रधान, अमित ढकाल, गुणराज लुइँटेल, हरिबहादुर थापा, अखण्ड भण्डारीसहितले नयाँ–नयाँ तरिका सिकिरहनुभएको थियो । त्यही न्यूजरुमभित्र बस्नेत नयाँ ऊर्जा, उमंगसहित समाचार लेख्न थाल्नुभएको थियो ।
नयाँलाई पनि काममा प्रोत्साहन दिने, विषयवस्तु दिने र समाचार सही ठाउँमा ‘प्लेसिङ’ गर्ने काममा घिमिरेले विनाभेदभाव गरेको व्यवहार बालकृष्ण कहिल्यै बिर्सिनुहुन्न । ‘सम्पादक घिमिरेले व्यक्ति होइन– समाचार चिन्नुहुन्थ्यो र पत्रिकामा त्यसलाई एजेण्डाका रूपमा ल्याउनुहुन्थ्यो । म इन्टर्नमै गए पनि मैले लेखेका समाचार धेरैचोटि कान्तिपुर र काठमाडौं पोष्टको पहिलो पृष्ठमा छापिए । फिचर स्टोरीलाई पनि उहाँले न्याय गर्नुभयो’ बालकृष्ण भन्नुहुन्छ– ‘कान्तिपुरमा मैले पाएको त्यो व्यवहारले मलाई थप समाचार लेख्न प्रेरित गरिरह्यो । दुई महिना पुग्नै लागेको थियो ।
मेरो निरन्तरताका लागि मैले कान्तिपुरमा कसैलाई भन्न भ्याएको थिइनँ । एक साँझ समाचार लेखेर घर फर्कंनै लागेको थिएँ । सम्पादक घिमिरे पनि तीनकुनेस्थित कान्तिपुर परिसरबाट बाहिर निस्किन गाडी घुमाउँदै हुनुहुँदो रहेछ । मलाई देखेर गाडीको हर्न बज्यो । फर्केर हेर्दा सम्पादक घिमिरेले इशारा गर्दै आफू पनि बाहिर निस्किन लागेकोले गाडीमा बस्न भन्नुभयो । म एकछिन अल्मलिएँ । तिमीलाई घर जाने बाटोमा छोड्दिउँला भन्नुभयो । बाटोमा तिमीले इन्टर्नमा राम्रो काम गर्यौ । कान्तिपुरमै काम गर्छौ भनेर सोध्नुभयो । म त छक्कै परेँ । म यही दिनको प्रतीक्षामा थिएँ ।’ यसरी भोलिपल्टबाटै बालकृष्णले कान्तिपुरमा स्ट्रिन्जरको रूपमा नियुक्ति पाउनुभयो । व्यावसायिक पत्रकारिताको परीक्षा उहाँको सुरु भयो । उहाँले अदालतका मुद्दा मामिलामा हुने ढिलाइ, भ्रष्टाचार र न्यायमा पहुँचका मुद्दालाई जरैदेखि उठाउन थाल्नुभयो । केही चर्चित प्रवृत्तिमूलक समाचार छन्– जसलाई कान्तिपुरले महत्वका साथ उठायो । त्यसले कान्तिपुरसँगै बालकृष्णलाई पनि माथि उठायो । कान्तिपुरमा झण्डै २० वर्ष काम गर्नुभयो उहाँले । त्यसबीचमा अर्थ वाणिज्य, कानुन, संसदीय मामिला, राजनीतिकलगायतका ‘बिट’मा काम गर्नुभयो । इकान्तिपुर डट कमको समाचारप्रमुख र सिंगो पब्लिकेशनको प्रदेश ब्युरो–प्रमुखको जिम्मेवारी पनि पूरा गर्नुभयो ।
न्यायिक भ्रष्टाचारबारे बस्नेतले कैयौं समाचार लेख्नुभयो । सबैभन्दा चर्चित रविन्सन प्रकरणदेखि चिनी प्रकरण, लागूऔषध मुद्धामा फसेका परमानन्द झाको मुद्दालाई कान्तिपुरलाई निकै खोजीमूलक तरिकाले उठायो । रविन्सन प्रकरणमा २ जना सर्वोच्चका न्यायाधीशको जागिर गयो । झाले पनि राजीनामा दिनुभयो ।
झा पछि गणतन्त्र आएपछि देशको पहिलो उपराष्टपति हुनुभयो । कान्तिपुरका कानुनी सल्लाहकार हुनुहुन्थ्यो रामकृष्ण निराला । निरालाले उहाँलाई उपराष्टपति भएपछि बधाई दिनुभएछ । झाले भने ‘बधाई मलाई हैन, तिम्रै पब्लिकेशसनका बालकृष्णलाई दिनु । उसले नलेखेको भए म न्यायाधीशै हुन्थे । उपराष्टपति कसरी हुुनु ?’ भनी रमाइलो मिश्रित आक्रोश पनि राख्नुभएछ ।
‘यस्तो प्रतिक्रिया सुनेर मलाई अनौठो लाग्यो । राजनीतिभित्रको विकृति देखि दिक्क पनि लाग्यो,’ बस्नेत सुनाउनुहुन्छ ।
उसो त बालकृष्ण नेपाल पत्रकार महासंघमा समेत २०५५ देखि सदस्य हुनुहुन्छ । महासंघको केन्द्रमा समेत नेतृत्व तहमा रहेर काम गरिसक्नुभएको छ । अदालतको रिपोर्टिङका बेला भने माओवादी आरोपमा अवैध थुनामा राखिएका जितमान बस्नेत, कृष्ण केसी, प्रभात कार्की, विशाल खड्कालगायतका मुद्दामा न्यायको पक्षमा जुट्नुभयो । ‘कसैलाई पनि अवैध रूपमा थुनामा राख्न मिल्दैन’ भनेर उहाँ बार एसोसिएशन, मानवाधिकार आयोगलगायतमा आफैं धाई तर्क राख्नुभयो । पत्रिकामा निरन्तर समाचार लेख्नुभयो । त्यतिबेला महाराजगञ्जस्थित सेनाको भैरवनाथ गणमा ‘सगरमाथा टाइम्स’का प्रकाशक जितमान बस्नेतलाई राखिएको थियो । उहाँसहितको पहलमा जितमानलाई जेलबाट निकालिएको थियो । जितमान निस्केपछि अर्का बन्दी कृष्ण केसीको पनि ज्यान जोगिएको थियो । यी सबै विवरण जितमानको जेल डायरी ‘अँध्यारा ३५८ दिनहरु’मा सविस्तार छ । पेशाकै क्रममा भारत, चीन, पाकिस्तान, थाइलैण्ड, अमेरिकालगायत देशको भ्रमण गर्नुभएका उहाँले कान्तिपुर पब्लिकेशनमा ‘उत्कृष्ट वर्ष पत्रकार पुरस्कार’, ‘उत्कृष्ट कानुन पत्रकारिता पुरस्कार’, ‘कान्तिपुर पत्रकारिता पुरस्कार’समेत पाइसक्नुभएको छ ।
उहाँ पत्रकारिता पर्याप्त अध्ययन र मेहनत बिनै अघि बढ्न थालेकोमा चिन्ता राख्नुहुन्छ ।
‘विकासमूलक पत्रकारिता नारा मात्र भएको छ । रचनात्मक हुन सकेको छैन । नकरात्मकता मात्र बढी भयो । यस्तो प्रवृत्ति रोकिनैपर्छ । प्रेस काउन्सिलले यसतर्फ पर्याप्त ध्यान दिनेछ, अध्यक्ष बस्नेत भन्नुहुन्छ ।
– साप्ताहिक विमर्शबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया