हिजोको फिनल्याण्ड, आजको युक्रेन र केही प्रश्नहरू
उत्तरी युरोपको एउटा राष्ट्र हो फिनल्याण्ड । पूर्वतिर रूस र पश्चिमतिर स्विडेन उत्तरमा नर्वे र दक्षिणमा इस्टोनिया कहीं सीमाना जमिनको र कहीं जलको । सोभियत संघको पतन हुनु अघि युरोपको गरिव राष्ट्र थियो फिनल्याण्ड ।
सोभियत संघको पतनपछि उदार अर्थतन्त्र, प्रजातन्त्र, दुनियाँकै उत्कृष्ट शिक्षा प्रणाली र पश्चिम युरोपका मुलुकहरूसँगको खुला व्यापारले कायापलट भयो । आज युरोपको सवैभन्दा विकसित र समृद्ध मुलुकहरूको गणनामा आउँछ ।
सेप्टेम्बर १, १९३९ मा नाजी जर्मनीले पोल्याण्डमाथि आक्रमण गर्यो । सेप्टेम्बर ३ मा वेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गर्यो ।
अगस्ट २३, १९३९ मा हिटलरको जर्मनी र स्टालिनको सोभियत संघवीच एकअर्काविरूद्ध आक्रमण नगर्ने र एक अर्कालाई सहयोग गर्ने सन्धि भयो ।
पोल्याण्डलाई दुई मुलुक माझ बाँडेर लिने निर्णय भयो । पोल्याण्डमाथि जर्मनीको आक्रमण भएको र बेलायत र फ्रान्सले जर्मनीविरूद्ध युद्धको घोषणा गरेको तथा जर्मनी र सोभियत संघवीचको बढ्दो निकटता अनुभव गरेको फिनल्याण्डले ३० नोभेम्बर १९३९ मा आफू उक्त युद्धमा तटस्थ रहने घोषणा गर्यो ।
तर, सोभियत संघले उसलाई युद्धमा सहयोग गर्न, उसको पक्षमा लाग्न दवाव दियो । सो दवावको सामना गर्न फिनल्याण्डले स्विडेन, बेलायत र फ्रान्ससँग सहयोगको अपेक्षा गर्यो ।
अहिले युक्रेनको पक्षमा कोही नआए जस्तै फिनल्याण्डलाई सहयोग गर्न कोही आएनन् ।
सोभियत संघले एउटा कृतिम सीमा झडपको स्थिति निर्माण गर्यो । र, नोभेम्बार ३०, १९३९ मा फिनल्याण्डमाथि आक्रमण ग¥यो ।
सानो फिनल्याण्ड, कमजोर फिनल्याण्ड तीन महिनासम्म सर्व शक्तिमान सोभियत संघसँग लड्यो । लडिरह्यो । अन्ततः विराट शक्तिको सामू केही लागेन । पराजित भयो ।
तर, त्यत्रो शक्तिसँग एक्लै तीन महिनासम्म लड्नु आफैंमा एउटा असम्भव उपलव्धि थियो । युद्ध इतिहासमा एउटा नौलो अध्याय थियो ।
भौतिक युद्ध सोभियत संघले जित्यो । तर, नैतिक युद्धमा फिनल्याण्ड विजयी भयो ।
फिनल्याण्डले रूस वा सोभियत संघलाई कहिल्यै मित्र मान्न सकेन । फिनल्याण्ड आज इयुको सदस्य छ । असंलग्नता छोडेर नाटोको सदस्यता लिन प्रतिवद्ध छ ।
दुर्भाग्यले आज युक्रेन त्यतिखेरको फिनल्याण्डको स्थितिमा छ । एक्लै संसारको दोस्रो ठूलो शक्तिसँग लडिरहेको छ । ईयु र नाटोको सदस्यता लिन इच्छुक छ । एउटा स्वतन्त्र राष्ट्रको रूपमा त्यस्तो कुनै सदस्यता लिनु वा नलिनु उसको अधिकार हो ।
तर, रूसले युक्रेनलाई आफ्नो नेतृत्वको र पूर्व सोभियत संघअन्तर्गतका केही मुलुकहरू मिलेर बनेको संगठन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ) र ईयु जस्तै रूस नेतृत्वको पूर्वी युरोप, मध्ये एसिया र पाश्चिम एसियाका केही राष्ट्रहरू मिलेर बनेको युरेसियन इकोनोमिक युनियनको सदस्य बनोस भन्ने चाहन्छ ।
सवाल सैद्धान्तिक हो । सवाल राष्ट्रको प्रभुसत्ता र स्वतन्त्रताको हो । के कुनै ठूलो मुलुकको छिमेकमा रहेको सानो मुलुक आफूले रोजेको विश्वको कुनै संगठनको सदस्य बन्न स्वतन्त्र छ/छैन ?
ठूलो र शक्तिशाली छिमेकीको कोपबाट बच्न उसले आफ्नो स्वतन्त्रता र प्रभुसत्तासँग सम्झौता गर्नु पर्दछ ?
कुनै राष्ट्रको छिमेकी हुनुको मूल्य मुलुकको स्वतन्त्रता र प्रभुसत्ताबाट चुक्ता गर्नु पर्ने हो ?
कुनै ठूलो मुलुकको छेउको सानो मुलुकको स्वतन्त्र हैसियतमा बाच्ने अधिकार हुन्न भन्ने हो ?
(केशवप्रसाद भट्टराईको फेसबुकबाट साभार)
फेसबुकबाट तपाईको प्रतिक्रिया