रूपासँगको त्यो कठोर यात्रा
मेरो नाम राजेश, मेरो घर त्रिवेणी गाउँपालिका– ६, शङ्खमूल, सल्यान । कर्मथलो जनकपुर ।
मेरो जागिर जनकपुर जिल्ला प्रशासनमा सुब्बा पदमा ।
वि. स. २०६३ सालको दशैँको विदा सकेर, म रात्रिबसमा सल्यानबाट जनकपुरतिर गइरहेको थिए ।
बसले गोरुसिङ्गेको लेखनाथ होटलमा करिब ८ बजे खाना खुवाउन रोक्यो ।
म स्टाफहरूसँग बसेर खाना खान थाले ।
मेरो आँखा पल्लो टेबलमा बसेकी मैयासँग जुध्यो !
फेरि आँखा तल पारेर खाना खान थाले ।
खाना खाई सकेर चुरोटको सर्को तान्न, म बाहिर निस्के !
चुरोट तान्दै थिए, खलासीले ‘जनकपुरको गाडीको प्यासेन्जरहरू जति चढुम !’ भन्न थाल्यो !
सैनामैना आइसकेपछि, गाडी रोकियो, हाम्रो मात्र नभएर, दुबैतिरको आउने जाने गाडीहरू रोकिएको थियो ।
सैनामैनादेखि लगभग ३०० मिटर पूर्वतर्फको जेठी नालामा समस्या रहेछ ।
‘पूलमा धराप (बम) थापेको छ रे, त्यसैले आर्मीहरू आएर बम निष्क्रिय गर्ने रे अनि मात्र बाटो खुल्छ रे !’ भन्ने हल्ला सुनियो ।
माओवादी, मधेशवादी, क्षेत्रीय संघसंठनको अनेकन माग अनि खिचातानीले थल थलिएको मेरो देश ।
एक ठाउँबाट निस्किएर अर्को गन्तव्यसम्म पुग्न पनि ज्यानको बाजी थापेर हिड्नु पर्ने अबस्था ।
हामी यात्रुहरू बसबाट ओर्लेर, बसकै छेउछाउ टहलिन थाल्यौ !
अघि आँखा जुधेकी मैया पनि मै भए तिर आइन ।
मैले नाम सोधे ।
नाम ‘रूपा’ रहेछ ।
लगभग रातिको पौने १२ बज्दा पनि जेठी नालाको समस्याले बाटो नखुल्ने छाटकाट देखिएपछि ड्राइभरले भैरहवाको बाईपासको बाटो लैजाने निर्णय गर्यो र हामी पनि जान तयार भयौँ !
१२ बजे त गाडी नारायणगढ पुग्नुपर्ने तर, हामी भने सैनामैनामा नै ।
गाडी फर्काएर गोरुसिङ्गेतिर नै लग्यो त्यसपछि भैरहवा हुँदै बर्दघाट निकाल्यो ।
खै ? रूपाले सिट साटे छिन कि क्या हो ।
उनी त मेरो छेउको सिटमा पो बसिन् ।
मेरो छेउको सिटमा बस्ने दाइ चाहिँ दुई सिट पछाडि रूपाको सिटमा गएर बसेछन् ।
रातभरि रूपा आफ्नै श्रीमान् झै लपक्क भएर आनन्द साथ निदाइन् ।
बिहानको ८ बजेतिर हाम्रो गाडी बर्दघाट पुग्यो ।
बिहान उठेपछि अत्तालिदै अनि सम्हालिदै सरी भनिन् ।
मैले नबोलिकन हाँसेरै ठीकै छ को स्वीकारोक्ति दिए !
रूपाले मेरो बारेमा, मेरो घरको बारेमा सोधिन्, मैले पनि सोधे ।
रूपाको घर मानपुर–७, निमुवा गाउँपालिका, दाङ रहेछ, उनी मिर्चैयामा महिला विकास शाखाकी जागिरे रहेछिन् ।
बिस्तारै बोल्नेक्रम बढेसँगै सामिप्यता पनि झागिदै गए ।
गाडी दाउन्नेको उकालो लाग्यो ।
फेरि दाउन्नेमा पहिरो खसेर बन्द ।
खलासी भाइले बन्द कति बेरमा खुल्छ ? थाहा भएन, यतै खाना खानुस् । भन्न थाल्यो ।
सबै यात्रुहरू खाना खान होटल पस्न थाले ।
हामी पनि,
हिजो अर्कै अर्कै टेबलमा बसेर खाना खाएको आज एउटै टेबलमा !
खाना खाएर, हामी कुराकानीमा नै रमाउन थाल्यौँ ।
लाग्थ्यो, रूपा र म, भरखर विवाह भएर कति घुम्न गएका हौँ !
यतिसम्म नजिक भयौँ कि हामी भए र मिलेसम्म बिहे गर्ने योजनासम्म पुग्यौँ !
दिनभरि दाउन्नेमा नै बसियो, बेलुकाको ७ बजेतिर मात्र जाम खुल्यो !
नारायणगढ पुग्दा मध्य रातको १ बजिसकेको थियो, हेटौंडा पुग्दा बिहानको ४ नै ।
हेटौंडामा नै चिया रोटी खाएर, बिहानको झिसमिसेमा गाडी अमलेखगन्ज हुँदै पथलैयातिर झर्यो ।
हामी बागमती के पुगेका थियौँ, त्यहाँ पनि चुरेभावरले बन्द गरेको रहेछ ।
बन्दलाई थाँती राखेर दिन कटाउन गफमा टहलिन थाल्यौँ !
हिजो राति दाउन्नेमा भात खादा बिहे गर्ने गफ गरेको, आजको गफमा छोरी पाए, छोरीको नाम राजेशको ‘श’ र रूपाको ‘रू’ बाट शरू राखौँ है ? भन्न पनि भ्याइ सकेको थियौैँ !
लेखक – डा.किशोर गुरुङ
बिस्तारै भोक लाग्न थाल्यो !
खाजा खोज्न थाल्यौँ तर बागमतीको छेउछाउका टहराहरूमा पहिलेदेखि नै रोकेर राखेको यात्रुहरूले सबै खानेकुरा स्वाहा बनाइसकेको थियो !
एकातिर भोक, अर्कोतिर थकानको सास्ती ।
एकदिनको यात्रा, तीन दिन त भै सकेको थियो अझ कति दिन लाग्ने हो ? थाहा थिएन ।
रूपाले निरौलो स्वरमा, यसरी मागेर खानु पर्दाको र दुख सास्ती अनि ज्यानको बाजी नै थापेर अन्जान यात्री झै यात्रा गर्नु पर्दा आफ्नै देशभित्रको परदेशी जस्तै भान भयो ! भन्दा, देश र देशको अवस्थाप्रति नराम्रो लाग्यो, नमज्जा महसुस गरेँ ।
बागमतीमा पूरै दिन कटाएपछि मात्र बन्द खुल्यो ।
रातको ९ बजेतिर हाम्रो गाडी पूर्वतिर हुईकियो !
लगभग रातको २ बजेतिर बर्दिबास पुग्दा नपुग्दै, त्यहा पनि मधेस आन्दोलनको बन्द रे भनेर गाडी रोक्यो !
बर्दिबासको सातुहरा पुलमा बम थापेको रहेछ ।
बिहानको ८ बजे शस्त्र प्रहरीको टोली आएर बम डिफ्यूज गर्यो ।
जनपद प्रहरीले जनकपुर र ढल्केबरदेखि पूर्वतर्फ जानेहरूलाई छुट्टछुट्टै स्कटिङ गरेर लैजाने भए पछि, रूपालाई हाम्रोबाट पूर्व जाने गाडीमा मेल गरिदियो ।
छुट्न निकै गाह्रो भयो, रूपाफेरि चाँडै भेट्ने बाचासँगै पूर्वको गाडी चढेर गइन् ।
म र मेरो मानसपटलमा खेलिरहेकी भविष्यकी छोरी सरू जनकपुरतिर हुँइकियौँ !
फेसबुकबाट तपाईको प्रतिक्रिया