म्यानचेस्टर सिटीलाई कीर्तिमानसहित लिगको उपाधि

लण्डन । युरोपियन च्याम्पियन्स लिगको उपाधि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले शानदार जित हासिल गरेको हो ।

फाइनलमा इटालियन सिरिए क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै च्याम्पियन्स लिगको उपाधि चुमेको हो । फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । म्यानचेस्टर सिटीको जितमा रोड्री नायक बनेका छन् । उनले निर्धारित समयको ६८औं मिनेटमा म्यानचेस्टर सिटीका लागि निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

जितपछि म्यानचेस्टर सिटी र प्रशिक्षक पेप ग्वार्डिओलाले चर्चा बटुलिरहेका छन् । ग्वार्डिओलाको प्रशिक्षकत्वमा म्यानचेस्टर सिटीले एउटै सिजनका तीन वटा ठूला युरोपेली प्रतियोगिताको उपाधि जितेको छ ।

च्याम्पियन्स लिग उपाधिको छिनोफानो भएलगत्तै म्यानचेस्टर सिटीका खेलाडीले भने त्योभन्दा पनि ठूलो र दूर्लभ कीर्तिमान बनाएका छन् । २३ वर्षीय अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजले कीर्तिमान बनाएका छन् । अल्भारेजले केवल ६ महिनाको अवधिमा चार वटा ठूला प्रतियोगिताको उपाधि जितेर विश्व फुटबल इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाएका छन् ।

सबैभन्दा पहिलो उनले गत डिसेम्बरमा अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि चुमाए । कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३—० गोलले हराउँदा त अल्भारेजले दुई गोल पनि गरेका थिए । सेमिफाइनलमा स्टार स्ट्राइकर लियोनल मेसीले पनि एक गोल गरेका छन् ।

अस्ट्रेलियाविरुद्घको प्रि–क्वार्टरफाइनल खेलमा पनि मेसी र अल्भारेजले एक–एक गोल गरेका थिए । खेलमा अर्जेन्टिना २—१ गोलले विजयी भएको थियो । समग्रमा अल्भारेजले कतार विश्वकपको उपाधि अर्जेन्टिनालाई चुमाउन चार गोलको योगदान गरेका थिए ।

Published : Sunday, 2023 June 11, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया