खेलाडीको भविष्य सुनिश्चित हुने कार्यक्रम ल्याउँछौं : खेलकुदमन्त्री लिम्बू

पोखरा । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताएका छन् ।

शनिबार पोखरा रंगशालामा शुरू भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै लिम्बूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने बताएका हुन् ।

उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित पार्ने कानुन ल्याउने तयारी सरकारले गरिरहेको बताएका छन् ।

नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको समेत साथ आवश्यक रहेको उनले बताएका छन् ।

खेलकुदमा निजी क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकलाई समेत सम्मानित हुने वातावरण सरकारले बनाउने मन्त्री लिम्बूले बताएका छन् ।

खेलकुदका संरचनालाई संघीयताअनुसार विकास गरिने उनले बताएका छन् । उनले भने, ‘देशमा संघीय शासन व्यवस्था सुरू भएको पाँच वर्ष पूरा भइसकेको छ । अब पनि पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन सक्दैन, यसको परिवर्तन गर्नु आवश्यक छ ।’

प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनालाई संघीयताअनुसार परिर्वतन गर्नुपर्नेमा मन्त्री लिम्बूले बताए ।

प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्ती मगरले बताएका छन् ।

खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ ।

एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् ।

सो अवसरमा विभिन्न खेल प्रदर्शनीसमेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ ।

Published : Saturday, 2023 June 17, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया