व्यूरोद्वारा पाँच विदेशीसहित १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५ नेपाली छन् । सात जना विदेशी नागरिक रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्टिकरमा लेपन गरेर नेपाल भित्र्याउनेदेखि ट्रान्स पार्टीहरूमा पुर्‍याउनेसम्मको गिरोहलाई पक्राउ गरेको शुक्रबार व्यूरोमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको थियो ।

व्यूरोका अनुसार काठमाडौंको चन्द्रागिरीबाट असार ५ गते २९ वर्षीय सुगम मैनाली ७ वटा पिसको स्टिकरसहित पक्राउ परेका छन् ।

एउटा पिसको २ हजारदेखि ५ हजार रुपियाँसम्म पर्छ । सुगमलाई प्रयोग गरेर प्रहरीले मुखिया गुरुङलाई पक्राउ गरेको थियो ।

गुरुङ यसअघि पनि लागुऔषध कारोबारमा २०७५ सालमा पक्राउ परी दुई वर्षभन्दा बढी जेल बसेर छुटेका थिए ।

प्रहरीले गुरुङको साथबाट ३ हजार ७०० मिलिग्राम कोकिन बरामद गरेको थियो ।

गुरुङकै माध्यमबाट प्रहरीले विराटनगरका २६ वर्षीय बच्चन भन्ने राज गौतमलाई पक्राउ गरेको थियो ।

गौतम नेपालका विभिन्न स्थानमा ट्रान्स पार्टी आयोजना गर्ने र त्यहाँ एलएसडी पुर्‍याउने प्रमुख सदस्य रहेको ब्युरोका एसपी चक्र जोशीले बताए ।

गौतमसँगै पक्राउ परेकी चेक गणतन्त्रकी ३२ वर्षीया मार्टिना सर्नाको साथबाट २६ थान स्टिकर र मेथामफेन्टामाइन ४ सय मिलिग्राम बरामद भएको थियो ।

उनीहरूको माध्यमबाट एलएसडी नेपाल भित्र्याउने इटालीका डेभिड मिनाडियो पक्राउ परेका थिए ।

मिनाडियो बस्दै आएको ठमेलको होटल कोठाबाट १० हजार ९८ थान एलएसडी, ३८ ग्राम मेथामफेन्टामाइन, १ लाख ३९ हजार भारतीय रुपियाँ, ७ सय युरो बरामद भएको थियो । उनी भारत हुँदै नेपाल भित्रिएको अनुसन्धानबाट खुलेको छ ।

Published : Friday, 2023 June 23, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया