सहकारीका पावरफुल ठग पक्राउ, सीआईबीले मुम्बईबाट घोक्र्याएर काठमाडौं ल्यायो
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
शर्माले सहकारीबाट १४ अर्ब रुपियाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । रकम हिनामिना गरेपछि शर्मा फरार भएका थिए ।
शर्मा मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेका थिए । विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर शर्मालाई सोमबार नेपाल ल्याइएको स्रोतले जनाएको छ ।
२०७७ सालमा भक्तपुरको शिवशिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।
शर्माले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । संस्था संकटमा परेपछि पूर्वअध्यक्ष शर्मा बेपत्ता भएका थिए ।
शर्मा र उनको समूहविरुद्ध बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।
अनुसन्धानको क्रममा सीआईबीले असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया