मोस्टी खोजी सूचीमा रहेका तीन जना काठमाडौं उपत्यकाबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्तप्रकाश श्रेष्ठ र उदयपुरको ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।
उनीहरूमध्ये मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको अभियोग छ ।
अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपियाँ ठगी गरेका छन् ।
प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपियाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो ।
प्रहरीले श्रेष्ठलाई काठमाडौंको जोरपाटी नारायणटारबाट मंगलबार तथा मग्रातीलाई काठमाडौंको काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया