मन्दिरमा भेटिएका ‘बाबा’ले १९ वर्ष अगाडि गरेका थिए अपराध

काठमाडौं । चितवनमा १९ वर्ष अगाडि हत्या गरेर फरार रहेका ४३ वर्षीय तोयानाथ चापागाई ‘कृष्ण’लाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका–२८ बस्ने चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मनकुमारी वाग्लेलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए ।

मनकुमारी वाग्लेको हत्यापछि उनले कानमा लगाएको गरगहना समेत लुटी चापागाई फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपुरको पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 October 11, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया