समीक्षाको स्वर रहेको गीतले युट्युबमा करोड भ्यूज पायो
काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।
देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।
आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।
गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।
‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ’, गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ ।’
उनले भने, ‘पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरूको ट्रान्जिटजस्तो बनेको छ ।’
‘गन्तव्य त विदेश भइरहेको छ’, आचार्यले भने, ‘गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’
श्यामस्वेत रसाइलीले एरेञ्ज गरेको गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।
सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया