महिलाको हत्या गरेर भागेको समूह आधा महिनापछि पक्राउ

काठमाडौं । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका– ४ शिवनगर टोल बस्ने ६७ वर्षीया विष्णुमाया विष्टको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका– ४ शिवनगर टोल बस्ने २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापाको अर्जुनधारा नगरपालिका–६ बस्ने ४३ वर्षीय धनबहादुर कामी रहेका छन् ।

विष्णुमायाको गत वैशाख २६ गते बिहान आफ्नै घरमा हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट, जिल्ला प्रहरी कार्यालय झापा, कोशी प्रदेश अनुसन्धान समूह समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूमध्ये गंगाप्रसाद, महेश, वर्षा र भगरथलाई बुधबार र धनबहादुरलाई बिहीबार पक्राउ परेका हुन् ।

उनीहरूले सुनको गहना तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूको साथबाट सुनको बाला १ थान, बेरूवा औंठी १ थान, जन्तर १ थान, सिक्री १ थान, टप १ जोर र चाँदीको कलश १ थान बरामद भएको छ ।

उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

यता, दैलेखको दुल्लु नगरपालिका–१२ दहसुनार टोल बस्ने ६१ वर्षीय मनबीरे सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय गणेश सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनबिरेको दुल्लु अस्पताल दैलेख हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

Published : Thursday, 2024 May 30, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया