दुर्गाबहादुर र साधुराम २३ वर्षपछि काठमाडौंमा पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्गबहादुर दमाई र ५३ वर्षीय साधुराम भन्ने खड्गबहादुर दमाई रहेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उनीहरूलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दोलखाबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाडौंको २०५६ फागुन ७ गतेको पत्रअनुसार उनीहरूकैद मुक्त भएका थिए ।

उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०५८ मंसिर ७ गते उनीहरूलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं, बबरमहलमा पठाइएको छ ।

Published : Thursday, 2024 June 13, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया