ताप्लेजुङमा ४ जनाले ज्यान गुमाएका परिवारको उद्धार र राहतका लागि कांग्रेस सांसद बोखिमद्वारा माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद लीला बोखिमले ताप्लेजुङ जिल्लामा वर्षाले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि सरकारसँग माग गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बोखिमले गृहजिल्ला ताप्लेजुङको फोक्लालुङ गाउँपालिका वडा नं. २ मा घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको भन्दै उनीहरूको पोस्टमार्टमका लागि समस्या भएको बताइन् । शवलाई सडकसम्म ल्याउनका ३ देखि साढे ३ घण्टासम्म लाग्ने भन्दै घटनास्थलमा चिकित्सक पठाएर पोस्टमार्टमको व्यस्था गर्न माग गरिन् ।

चिकित्सक घटनास्थलसम्म जान नसक्ने हो भने हेलिकप्टको व्यवस्था गरेर शवको पोस्टमार्टमका लागि कांग्रेस सांसद बोखिमले बताएकी छिन् ।

उनले भनिन्, ‘गत राति ३२ गते रातिको अविरल वर्षाले ताप्लेजुङ जिल्लाको फोक्लालुङ गाउँपालिका वडा नं. २ एउटै घर परिवारका ४ जना व्यक्तिहरू पहिरोले पुरिएर मृत्यु भएको छ ।’

‘सोही वडाका दुई जना अर्को घर भत्किएर त्यहाँ पुरिएर बच्न सफल भएका छन् । बाबुछोरी घाइते छन्’, उनले भनिन् ।

‘बाटो पनि नभएको कारणले गर्दा त्यहाँबाट सदरमुकाममा पोस्टमार्टम गर्न ल्याउनको लागि बाटो नभएको अवस्थाले गर्दा कि नेपाल सरकारले हेलिकप्टरको व्यवस्था गर्नुप¥यो । होइन भने पोस्टमार्टम गर्ने डाक्टर उपलब्ध गराइदिनु प¥यो । भन्ने त्यहाँको जनताको आवाज छ । माग छ’, सांसद बोखिमले भनिन् ।

‘ठूलो जनधनको क्षति भएको छ । चौपाया, गाइबस्तु, बाख्रा पनि मरेका छन् । साना काठका पुल पनि बगाएको छ । जुन घटना भएको छ, त्यहाँबाट आउनको लागि मोटरबाटोमा आइपुग्नको लागि लगभग ३ देखि साढे ३ घण्टा लाग्छ । त्यो ठाउँसम्म शवलाई अत्यन्तै ठूलो कष्ट भोगिरहेका छन्, त्यहाँका जनताले, त्यसको व्यवस्था गर्नको लागि तत्काल राहतको व्यवस्था गर्न नेपाल सरकार तथा गृहमन्त्रीज्यूको के कस्तो अवस्था छ ? तत्काल राहत दिनको लागि र राहत पु¥याउनको लागि के सामग्रीहरू उपलब्ध छ ? सदनलाई जानकारी गराइदिनु भएको भए आभारी हुने थियौं’, बोखिमले भनिन् ।

‘ताप्लेजुङ जिल्लाले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । गत वर्ष पनि हामीले ठूलो नोक्सानी व्यहोरेका थियौं’, उनले भनिन् ।

‘वर्षा शुरु हुँदाहुँदै ताप्लेजुङबाट क्षति हुन शुरु भएको छ । यो सबै जिल्लामा क्षति हुन सक्छ । हामीले तत्काल राहतका साथै हेलिकप्टरको व्यवस्था प्रदेशहरूमा भयो भने तत्काल राहत पाउँछन्’, कांग्रेस सांसद बोखिमले भनिन् ।

Published : Friday, 2024 June 14, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया