पूर्व डीएसपी शर्मा र उनका साथी खत्री पक्राउ

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीएसपी कृष्णप्रसाद शर्मा (केपी) र बैंकका पूर्व कर्मचारीझविन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करी तथा हुन्डी कारोबारमा संलग्न व्यक्तिलाई छुटाइदिने भन्दै पैसा असुली गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले पूर्व डीएसपी शर्मा र बैंकका पूर्व कर्मचारी खत्रीलाई शुक्रबार काठमाडौंमा पक्राउ गरेको जनाएको छ ।

शर्मा र खत्रीले पेवेल नेपालका कार्यकारी अधिकृत प्रज्वल आचार्यसहितका व्यक्तिसँग पैसा लिएका छन् । पक्राउ नै नपरी सीआइबीमा सेटिङ मिलाएर मुद्दा मिलाइदिने भन्दै शर्मा र खत्रीले सहमति गरेका थिए ।

प्रहरीले पेवेल नेपाल र सजिलोपेको सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई लेखेको पत्र समेत बरामद गरेको छ ।

पूर्व डीएसपी शर्मा प्रहरी सेवामा रहँदा पनि विवादास्पद छवीका अधिकृत हुन् । अपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा शर्मा कारबाहीमा परेका थिए ।

शर्मा अवकाशपछि पनि अवैध गतिविधिमा संलग्न रहेको खुलेको छ । शर्मासँग पक्राउ परेका खत्री बैंकका पूर्व कर्मचारी हुन् ।

सुन तस्करीको पैसा पेवेल र सजिलोपे नामक डिजिटल मोबाइल वालेट कम्पनीमार्फत विदेशमा भुक्तानी भएको खुलेपछि प्रहरीले ती कम्पनीमाथि छानविन थालेको थियो ।

उनीहरुले नेपालमा सुन किन्नेसँग पैसा लिने र विदेशबाट आउने रेमिटेन्स सुन तस्करी गर्ने चिनियाँ गिरोहका सदस्यलाई दिने गरेको अनुसन्धानले देखाएको छ ।

पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सञ्चालक सुरजशम्शेर जबरा, प्रज्वल आचार्य, सजिलो पेका अध्यक्ष सुनिल जाकिबन्जा लगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

गत वर्ष विमानस्थलबाट पास भएको ६० किलो ७ १६ ग्राम बरामद गरी अनुसन्धान गर्दा यो समूहले १ वर्षमा करीव ३ हजार किलो सुन तस्करी गरेको खलेको छ ।

मुद्दा मिलाइदिन्छु भन्दै पूर्व डीएसपी शर्मा र बैंकका पूर्व कर्मचारी खत्रीले साढे आठ लाख रुपियाँ लिएका थिए ।

Published : Saturday, 2024 June 22, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया