विद्या भण्डारीद्वारा पहिलो पटक ओलीको आलोचना, पार्टी फुटाएर खरानी बनेको खुलासा

बनेपा । नेकपा (एमाले)की नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरूप्रति लक्षित गरेर पार्टी विभाजन नगर्नुस् भनेर सम्झाएको बताएकी छिन् ।

शुक्रबार काभ्रेपलाञ्चोक जिल्लामा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले पार्टी विभाजन गरेर अहिले नेताहरू खरानी भएर बसेको बताइन् ।

उनले भनिन्, ‘एकदिन त सत्यको जित हुन्छ । तपाईहरू यसरी विभाजनमा जानु हुँदैन, भोलि सिङ्गो पार्टीको नेता बन्न सक्नु हुन्छ ।’

‘यो कलंकको टीका नलगाउनुस् । भनेर नेताहरूलाई भन्दा खरानी हुन तयार छु, अहिले खरानी भइरहेका छन् । होइन ?’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

‘सिङ्गो दलको नेता हुने मान्छे कलंकको टीका नलगाउनुस् पार्टी विभाजनको भन्दा खरानी हुन तयार भनेको खरानी’, उनले भनेकी छिन् ।

‘प्रयास नगरेको होइन कहिले काहीँ भने मान्छेलाई पनि कुरा बुझाउन नसकिने पनि हुँदो रहेछ । तर, सबै जना त्यस्तो हुन्छन् जस्तो मलाई लाग्दैन’, भण्डारीले भनिन् ।

‘धेरैका कुरा बुझेपछि त्यस्तो घटनाहरू नदोहरिन सक्छ । जहाँसम्म सबैभन्दा बढि पीडा कसलाई भयो होला त ? जुन पार्टीबाट राष्ट्रपतिमा बस्दा झण्डै दुईतिहाई मतले राष्ट्रपति भएको मान्छे तिनै पार्टीहरू चहिँ यहाँ यदुवंशी भएर झगडा गरेर मुद्दा लडेर टुक्रा टुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वभाविक हो’, भण्डारीले भनिन् ।

उनले भनिन्, ‘कसैले मलाई राजनीति गर्‍यो भन्ला । यो राजनीति होइन । यो राष्ट्रको लागि यदि राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्ने हुन्छ ।’

‘दुनियाँ आएर चाहिँ यहाँ अनेक एजेन्सीहरूले खेल्ने, पार्टी फुटाउन खोज्ने, अनि त्यसलाई नफुटाउ भन्दाखेरी अनि त्यो राजनीति हो रे ! त्यो कुरा मलाई राम्ररी थाहा छ । थाहा पाएरै गरेको हो ।’

‘उहाँहरूलाई पाँच महिना कुरिदिनुस् महाधिवेशन हुन्छ । तपाईहरू धैर्य गर्नुहोस् भन्दाखेरी पर्खिन सकिएन’, एमाले नेतृ भण्डारीले भनेकी छिन् ।

‘म कोसिस नगरेको चाहिँ होइन । जसले जुन त्यो चपेटामा तपाईहरूबीच परिरहेको छ । मैले धेरै कोसिस गरेको हो’, उनले भनेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा एमालेका अध्यक्ष ओली भने सहभागी भएनन् । एमालेका नेता गोकुल बास्कोटा लगायतका केही सीमित नेताहरू कार्यक्रममा सहभागी थिए ।

पूर्वराष्ट्रपति भण्डारीले काभ्रेमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक अभिव्यक्तिहरू दिएपछि उनले एमालेको राजनीतिमा सक्रिय भएर लागेको सन्देश दिएकी छिन् ।

सार्वजनिक कार्यक्रममा भण्डारीले एमालेका अध्यक्ष ओलीको नाम नलिएर आलोचना गरेकी छिन् । पार्टी विभाजन गरेर एमालेका नेताहरू खरानी भएको टिप्पणी गरेकी छिन् ।

Published : Saturday, 2024 June 29, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया