ठूला माछाविरुद्ध २ करोडभन्दा धेरै जरिवाना मागदावीसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध २ करोडभन्दा धेरै जरिवाना मागदावीसहित मुद्दा दायर गरेको छ ।

बुधबार विभागले पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा अअभियोग पत्र दायर गरको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रहेको बैंकमा खाता खोलेर कारोबार गरेको आरोपमा पौडेलविरुद्ध विभागले लगाएको छ ।

पौडेलविरुद्ध ७७ लाख ४५ हजार ९ सय रुपियाँ बिगो कायम गरी त्यसको तेब्बर २ करोड ३२ लाख ३७ हजार ७ सय रुपियाँ जरिवाना मागदावी विभागले गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका– ३ स्थायी ठेगाना भइ हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएका प्रतिवादी पौडेलले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली ५८ हजार अमेरिकी डलर जम्मा गरेको पाइएको विभागले जनाएको छ ।

यसअघि पौडेल नेशनल पेमेन्ट गेट वे खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवादी सुनिल पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १६(१)को व्यवस्था विपरितको कसूर गरेको निज उपर सोही ऐनको दफा १७ (१) बमोजिम उक्त बैंक खातामा जम्मा भएको अमेरिकी डलर ५८ हजार को हिसाबले हुन आउने जम्मा नेपाली रुपियाँ ७७ लाख ४५ हजार ९ सय बिगो कायम गरी सोही ऐनको दफा १७(१) बमोजिम विगो ७७ लाख ४५ हजार ९ सयको तेब्बर २ करोड ३२ लाख ३७ हजार ७ सय जरिवाना हुन मागदावी लिइ काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरिएको छ ।’

Published : Thursday, 2024 July 18, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया