दुबईमा मानव बेचबिखन गर्ने दलाल अधिकारी पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गरेको अभियोगमा प्रहरीले ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई पक्राउ गरेको छ ।

मोरङको रंगेली नगरपालिका–३ ठेगाना भएका अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपियाँसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपियाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको लगायतका गतिविधि गरेको अभियोग छ ।

भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पु¥याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफू बस्ने फ्ल्याटमा लगि बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको, युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौनशोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपियाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।

अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2024 July 18, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया