प्रधानमन्त्री ओलीलाई सफल बनाउन बज्राचार्य, रिमाल, खतिवडा र बडाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । रिमाल र खतिवडाले मन्त्री वा सोसरह सुविधा पाउने छन् ।

प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका रिमाल एमालेका उपमहासचिव हुन् । रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार भइसकेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडा अर्थतन्त्रको क्षेत्रमा राम्रो दख्खल राख्छन् । ओलीलाई सफल बनाउन रिमाल र खतिवडाको राम्रो भूमिका रहँदै आएको छ । प्रधानमन्त्री ओलीले रिमाल र खतिवडालाई निकै विश्वास गर्छन् ।

ओलीले प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नियुक्त गरेका छन् । बज्राचार्य लामो समयदेखि ओलीसँग रहेर स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले बुधबार महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन् । ओली अघिल्लो पटक प्रधानमन्त्री रहेका बेला बडाल महान्यायाधिवक्ता रहेका थिए ।

Published : Thursday, 2024 July 18, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया