प्रेम लिम्बुले जिते विश्व तेकान्दोमा रजत पदक

काठमाडौं । दक्षिण एशियाली खेलकुद सागका कास्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् ।

दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराइरहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् ।

प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछि पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६–७.६८३ अंकले हराउँदै क्वाटर फाईनल प्रवेश गरेका लिम्बु क्वाटर फाईनलमा एलेक्सिसलाई ७.७४९–७.१४९ अंकले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा जोवनलाई ७.९६६–७.७६६ अंकले हराउँदै फाइनलसम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोकसंग ७.८९९–८.०९९ को झिनो अंकले पछि पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।

५५ राष्ट्रका ४५०० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता २६ जुलाईदेखि सुरु भई ३० जुलाईसम्म चलेको थियो । यसअघि लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।

नेपालका लागि कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानिमा खेलीरहेका प्रेमले विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ दर्जनभन्दा धेरै पदकहरू जितेका छन् । प्रेमले रेफ्री तथा प्रशिक्षकको तालिमहरू समेत लिएका छन ।

२०७३ देखि नेपाल पुलिस क्लबमा आवद्ध भएर तेक्वान्दो खेल्दै आएका उनले ८औं र ९औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, १९औं एसियन गेममा ५औं, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितीसकेका छन् ।

२०२६ मा हुन लागेको २०औं एसियन गेमको लागि बन्द प्रशिक्षणमा रहेर त्यसको लागी तयारी गरिरहेका लिम्बु प्रतियोगिता सम्पन्न भए पश्चात अगस्ट ३ तारिक नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Published : Tuesday, 2024 July 30, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया