आईजीपी अर्यालद्वारा महिला भलिबल खेलाडीलाई सम्मान, निरुताको बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक, काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा आईजीपी अर्यालले खेलाडीहरूलाई सम्मान प्रदान गरेका हुन् ।

सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् ।

आईजीपी अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर देश र संगठनको छवि उच्च राख्न खेलेको योगदानको कदर स्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको बताएका छन् ।

साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा लिग सम्पन्न भएको थियो ।

लिग तथा अन्य भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको आईजीपी अर्यालले बताएका छन् ।

ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

यसअघि २२औँ सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।

Published : Wednesday, 2024 August 14, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया