ठगी लगायतका काण्डैकाण्डमा परेका लामिछानेलाई सभापति पद छाड्न सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा.मुकुल ढकालले सभापति रवि लामिछानेको कारणले पार्टीको छवि धुमिल हुँदै गएको बताएका छन् ।

बिहीबार रास्वपाका सभापति लामिछानेलाई सम्बोधन गरेर स्पष्टीकरणको जवाफ दिँदै ढकालले भने, ‘आज पार्टीको छवि, मेरो कारणले नभई तपाईको कारणले धुमिल हुँदै गको छ ।’

‘नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बीउ तपाईका कारणले नाश हुँदै गइरहेको छ’, ढकालले लामिछानेमाथि गम्भीर आरोप लगाउँदै भने, ‘पार्टी सभापति पदबाट राजीनामा दिइ आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु । तपाईले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइदिनुहोस् ।’

रास्वपाका नेता ढकालले भने, ‘स्मरण रहोस् मैले पार्टी स्थापना भएदेखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरूमाथि झुटा आरोप लगाउने जस्ता क्रियाकलाप गरेको छैन र गर्ने पनि छैन । पार्टी स्थापना हुनु अगाडिबाट नै वैकल्पिक शक्तिको रुपमा पार्टीलाई उभ्याउन लागिरहेको थिएँ, लागिरहेको छु र लागिरहनेछु ।’

रास्वपाका नेता ढकालले लामिछानेमाथि सहकारी ठगीका विषयमा प्रश्न उठाउँदै नैतिकता देखाउन सुझाव दिएका छन् ।

‘सहकारी ठगी मुद्दामा तपाईमाथि पार्टीबाट स्वतन्त्र छानविन समिति किन गठन नहुने ? तपाईले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानविन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ’, ढकालले भने ।

‘म स्वयंले पनि तपाईको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर, असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाई (रवि लामिछाने) माथि सहकारी ठगीसम्बन्धी छानविन हुनुपर्ने फैसला गरिसकेको छ’, नेता ढकालले भने, ‘सर्वोच्च अदालतको फैसलालाई तपाई मान्ने की नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने की ननिदे ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानविनका लागि तयार हुने आँट छ ? रवि लामिछानेज्यू ?’

नेता ढकालले भने, ‘तपाईले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम झै छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ’, ढकालले भने, ‘विद्यमान ऐन कानूनअनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईले विगतमा गरेको अपराधका लागि पार्टी बलि चढ्नु पर्ने ? आँट छभने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । रवि लामिछानेज्यू ।’

‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो ? जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखल गर्नु भयो, त्यो भ्रष्टाचारको सङ्केत होइन ? आँट छभने मन्त्री हुँदा आफूले गरेको प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेर आफ्नै हितैषीहरूको बैंक स्टेटमेन्छ सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछानेज्यू ?’, नेता ढकालले प्रश्न गरेका छन् ।

नेता ढकालले भने, ‘उल्लेखित प्रश्न बाहेक पनि थुप्रै प्रश्नहरू बाँकी नै छन् । समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले तपाईलाई सोधेका छन् । जनताका यी सबै प्रश्नको जवाफ दिने आँट गर्नुहोस् । आफूमाथि लागेको आरोपउपर निष्पक्ष, स्वतन्त्र छानविन समिति गठन गर्ने आँट गर्नुहोस् ।’

सभापति लामिछाने विभिन्न काण्डैकाण्डहरूमा मुछिएका छन् । लामिछानेमाथि प्रश्न उठेका बेला नेता ढकालले नै गम्भीर आरोपहरू लगाएका छन् । कतिपय आरोपहरू पुष्टि नै भएका पनि छन् । कतिपय आरोप अनुसन्धानमा छन् ।

Published : Thursday, 2024 August 15, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया