एमाले लुम्बिनीभित्र बबण्डर, शंकर पोखरेलको पावरमा मुख्यमन्त्री आचार्यले हत्याए दलको नेता

बुटवल । एमालेले लुम्विनी प्रदेश सभामा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्यलाई चयन गरेको छ ।

शनिबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको नेता चयन भएका आचार्य महासचिव शंकर पोखरेल निकटका हुन् ।

दलको नेता बन्न मुख्यमन्त्री आचार्यले बुटवलमा बैठक बोलाएका थिए । आचार्यले बोलाएको बैठकमा संसदीय दलको नेता लीला गिरी सहभागी भएनन् । गिरी सहभागी नभएको बैठकबाट आचार्यले आफूलाई दलको नेता बनाउने निर्णय गरेका छन् । महासचिव पोखरेको शक्तिको भरमा आचार्यले गिरीलाई हटाएर मुख्यमन्त्रीका साथै संसदीय दलको नेता पद हत्याएका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल निकट मानिने गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न नदिएर आचार्य आफै मुख्यमन्त्री बनेका थिए ।

आचार्य मुख्यमन्त्री बनेपछि गिरीले साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । एमालेले उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष समेत हुन् ।

प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई चयन भएकी छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । सचेतक रहेकी रेखा चौधरी शर्मालाई हटाएर तामाङलाई चयन गरिएको छ । बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी इन्चार्ज समेत रहेकी एमाले सचिव पदमा अर्याल पनि सहभागी थिइन् ।

मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनुभन्दा दुई दिन अगाडि मुख्यमन्त्री आचार्यले दलको नेता हत्याएका छन् ।

Published : Saturday, 2024 August 17, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया