चक्रेका केटा र टोले गुण्डा ज्ञानेको समूहले कांग्रेसका २ कार्यकर्तालाई हतियार प्रहार (तस्बिर)
नेपालगञ्ज । टोले गुण्डाको गतिविधि गर्दै आएका एमालेबाट वडाध्यक्षमा निर्वाचित ज्ञाने भनिने ज्ञानेन्द्र वली, नारायण डाँगीको नेतृत्वको ग्याङले नेपाली कांग्रेसका दुई जना कार्यकर्तालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको छ ।
वलीको ग्याङले शनिबार साँझ करीव ७ बजेतिर राप्ती सोनागरी गाउँपालिकाको बिनौनामा धारिलो हतियार प्रहार गरेर दुई जनालाई गम्भीर घाइते बनाएको हो ।
घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २८ का सुलभ मल्ल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीले बताएका छन् । मल्लको बाँया कोखमा चोट लागेको छ ।
अर्का घाइते राप्ती सोनारी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २८ का सन्दीप विष्ट रहेको एसपी कार्कीले बताएका छन् । विष्टलाई धारिलो हतियारबाट दुबै हात र कुममा चोट लागेको छ ।
धारिलो हतियार प्रहार गरि हत्या प्रयास गरेको अभियोगमा प्रहरीले एमालेको युवा संघका नेता समेत रहेका वडाध्यक्ष ज्ञानेन्द्र वलीसहित ४ जनालाई पक्राउ गरेको छ ।
घाइतेहरूले आफूलाई धारिलो हतियार प्रहार गर्नेहरूमा नारायण डाँगी, ज्ञाने भनिने ज्ञानेन्द्र वली लगायतको समूह रहेको बताएका छन् ।
घाइतेहरूलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । प्रहरीले शनिबार राति ८ बजे घटनाको जानकारी पाएको थियो । जानकारी पाउनेवित्तिकै खटिएको प्रहरीले वडाध्यक्ष वलीसहित चार जनालाई पक्राउ गरेको छ ।
वडाध्यक्ष ज्ञाने भनिने ज्ञानेन्द्र वलीको पृष्ठभूमि निकै विवादित र गुण्डाशैलीको छ । बाँके जिल्लामा हुने अधिकांश गुडागर्दीमा वलीको संलग्नता रहेन गरेको छ । विगतमा पनि उनले धेरै व्यक्तिलाई ज्यानमार्ने गरेर आक्रमण गरिसकेका छन् ।
गुण्डा नाइके चक्रे मिलनको दाहिने हात मानिने ज्ञानेन्द्र वलीले दुई वर्ष अगाडि नेपालगञ्जमा हतियार बोकेर चक्रे मलिनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमा हालेर आतंक मच्चाएका थिए ।
राप्ती नदी र आसपासका अन्य नदीहरूको गिट्टी, बालुवा, ढुङ्गाको ठेक्का बलजफ्ती रुपमा लिएर गुण्डाहरू पाल्दै आएको अभियोग वलीलाई लाग्दै आएको छ ।
एमालेको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्मले वलीलाई राजनीतिक संरक्षण दिएर राखेको छ । एमालेले टोले गुण्डाको छवि बनाएका वलीलाई वडाध्यक्षको टिकट नै दिएर जिताएपछि विभिन्न खालका प्रश्न बेलाबेला उठ्ने गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । सुलभ र सन्दीप राप्ती सोनारीमा शनिबार भएका कारण घुम्न गएका थिए । पत्नी पनि विदेशबाट आएका कारण उनीहरू परिवारका सदस्यहरूसँग राप्ती सोनारी गएका थिए । सोही क्रममा टोले गुण्डा वलीको समूहले अकस्मात धारिलो हतियार प्रहार गरेर घाइते बनाएको घाइतेका आफन्तहरूले बताएका छन् ।
वलीको समूह अपराधको दुनियाँमा बाँके जिल्लामा निकै सक्रिय छ । यो समूहसँग प्रहरी प्रशासन पनि डराएर बस्ने गरेको आरोप लाग्दै आएको छ । यस पटक ज्ञाने वलीको समूहलाई कारबाही हुन्छ वा हुँदैन बाँके जिल्लाबासीले हेरेर बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया