सुमोको ट्याङ्कीभित्र लागुऔषध, बल्खुमा व्यूरोद्वारा बरामद
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध व्यूरो, कोटेश्वरले टाटा सुमो गाडीमा तेलको ट्याङ्कीभित्र फल्स बटम बनाई लागुऔषध ओसार पासर गर्ने २ जना मानिसलाई पक्राउ गरेको छ ।
लागुऔषधको कारोवार भइरहेको विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले नाइट्राभेट ट्याब्लेट १४,२८० तथा डाईजेपाम, बुप्रेनोर्फिन, फेनारगन १७८९ एम्पुलसहित २ जना कारोवारीहरूलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
साउन ३१ गते काठमाडौंको बौद्ध, नयाँ बस्तीबाट बौद्धमा बस्ने वर्ष २९ को विजय परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रित लागुऔषध नाईट्राभेट ५२५० ट्याब्लेटसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि काठमाडौंमा औषधीजन्य मनोद्विपक पदार्थको कारोबार गरिरहेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
भदौ १ गते भारतको बिहार पूर्वी चम्पारण जिल्ला रक्सौल ठेगाना भएको वर्ष ३७ को वीरबल महतोलाई ललितपुरको बल्खुबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महतोले भारतीय नम्वर प्लेटको रातो रङको टाटा सुमो गाडीको ईन्धन राख्ने ट्याङ्कीमा फल्स बटम बनाई लुकाई छिपाउ गरी राखेको लागुऔषध नाईट्राजेपाम ९०३० ट्याब्लेट तथा डाईजेपाम ६००, बुप्रेनोर्फिन ५९८ र फेनारगन ५९१ एम्पुल बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महतोले पटक पटक भारतको रक्सौल हुँदै काठमाडौंमा लामो समयदेखि औषधीजन्य मनोद्विपक पदार्थको अवैध कारोबार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया