बिनौना घटनाप्रति तरुण दलले दियो शान्तिपूर्ण चेतावनी, चक्रे र एमालेका टोले गुण्डाहरूलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बाँके जिल्लामा तरुण दलका स्थानीय नेताहरूलाई संगठित अपराधमा क्रियाशील टोले गुण्डाहरू ज्ञानेन्द्रराज वली ‘ज्ञानु’ र नारायण डाँगीको समूहले धारिलो हतियार खुँडा प्रहार गरेर गम्भीर घाइते बनाएको भन्दै घटनाप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाएका छन् ।

आइतबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘राप्ती सोनारी गाउँपालिकाको वडा नं. ५ बिनौना चोकमा लुकीछिपी संगठित अपराधमा क्रियाशील ज्ञानेन्द्रराज वली ‘ज्ञानु’को नेतृत्वमा नारायण डाँगी समेत १०/१५ जना अपराधिक समूहले नियोजित एवं योजनावद्ध रुपमा ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुँडा प्रहार गरी नेपाल तरुण दल राप्ती सोनारी गाउँपालिका बाँकेका सदस्य तरुण नेता सन्दीप विष्ट ‘स्याण्डी’ र सुलभ मल्लमाथि गरिएको घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ ।’

‘पेसेवर अपराधीहरूबाट राजनीतिक प्रतिशोध राखी अङ्गभङ्ग हुने गरी गरिएको सांघातिक आक्रमणको नेपाल तरुण दल घोर निन्दा र भर्त्सना गर्दछ’, गुरुङले भनेका छन् ।

उनले भने, ‘जनताको शान्तिपूर्ण बाँच्न पाउने लोकतान्त्रिक अधिकारको हनन् हुने गरी उक्त आक्रमणमा संलग्न अपराधीहरू सबैलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानूनी कार्वाहीको लागि नेपाल तरुण दल नेपाल सरकारको सम्बन्धित निकायलाई जोडदार आग्रह गर्दछ ।’

‘समाजका कसिङ्गरहरूलाई पूर्णरुपमा नियन्त्रण गर्न र समाजमा शान्ति अमनचयन कायम गर्न संवन्धित निकायले उदाशीनता देखाएमा वा आलटाल गरेमा नेपाल तरुण दल यस्ता हिंसात्मक गिरोहका विरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न विषम परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुने पनि दल प्रष्ट पार्न चाहन्छौँ’, अध्यक्ष गुरुङले चेतावनी शैलीमा भनेका छन् ।

‘घाइते तरुण नेताहरूको उपचारको उचित व्यवस्था मिलाउन पनि दल सम्बन्धित निकायसँग जोडदार माग गर्दै घाइते तरुण नेताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नेपाल तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले पनि संयुक्त विज्ञप्ति जारी गरेर ज्ञानेन्द्रराज वली ‘ज्ञानु’ र नारायण डाँगीसहित १०/१५ जनाको समूहले स्थानीय तरुण नेताहरूमाथि धारिलो हतियार खुँडा प्रहार गरेर सांघातिक आक्रमण गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

तरुण दल बाँकेले दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै कारबाहीमा आलटाल भएमा कडाभन्दा कडा आन्दोलनको चेतावनी दिएको छ । सांघातिक आक्रमणमा संलग्न रहेको अभियोगमा बाँके प्रहरीले टोले गुण्डाहरू ज्ञानुसहितका व्यक्तिलाई पक्राउ गरेको छ । तरुण दलले आक्रमणमा संलग्नहरूलाई राजनीतिक दवावमा प्रहरीले उन्मुक्ति दिएर छाड्ने हो की भन्ने आशंका गरेको छ ।

तरुण दल बाँकेले टोले गुण्डाहरू ज्ञानु र नारायण डाँगीको समूहले दाङ जिल्लाबाट समेत अपराधिक समूहका केटाहरू बोलाएर बिनौना चोकमा ढुकेर बसी सांघातिक आक्रमण गराएको जनाएको छ ।

तरुण नेताहरूमाथि भएको सांघातिक आक्रमणको भर्त्सना र कारबाहीको माग गर्दै तरुण दल बाँकेका ३ वटा क्षेत्रीय अध्यक्ष, ८ वटा पालिकाका तरुण अध्यक्षहरूले संयुक्त रुपमा वक्तव्य जारी गरेका छन् ।

एमालेको राजनीतिक पृष्ठभूमिमा बाँके जिल्लामा संगठित अपराध गर्दै आएका ज्ञानुको समूह गुण्डा नाइके चक्रे मिलनसँग निकट मानिन्छ । बेलाबेला ज्ञानुको समूहले चक्रे मिलनलाई बाँकेमा बोलाएर हतियारसहित स्कर्टिङ गर्ने लगायतका आतंक सिर्जना गर्दै आएको छ ।

ज्ञानुको समूहले बाँके जिल्लामा बालुवा, गिट्टी, ढुङ्गा लगायतको क्षेत्रमा कब्जा जमाएर तस्करी गर्दै आएको आरोप छ ।

ज्ञानुलाई एमालेले टिकट दिएपछि राप्ती सोनारी गाउँपालिकाको वडाध्यक्षमा समेत निर्वाचित भएका छन् ।

टोले गुण्डा ज्ञानु, नारायण डाँगी लगायत १०/१५ जनाको अपराधिक समूहले तरुण नेताहरूमाथि शुक्रबार साँझ राप्ती सोनारी गाउँपालिकाको वडा नं. ५ विनौना चोकमा धारिलो हतियार खुँडा प्रहार गरी स्थानीय तरुण नेताद्वय सन्दीप विष्ट ‘स्याण्ड’ र सुलभ मल्ललाई प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

स्थानीय तरुणका नेताहरू परिवारका सदस्यहरूसँग बिनौना चोकमा शनिबारको दिन घुमघाम र रमाइलो गर्न गएका बेला टोले गुण्डाहरू ज्ञानु र नारायण डाँगीको ग्याङले आक्रमण गरेको थियो । घाइतेहरूको लखनउमा उपचार भइरहेको छ ।

Published : Sunday, 2024 August 18, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया