धेरै उम्लिएकाे माओवादीका सांसदहरूलाई गोकुल बास्कोटाको प्रस्तावले तनाब

काठमाडौं । एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले समितिका सभापति परिवर्तन गर्न माग गरेपछि सांसद बास्कोटाले अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्न माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदद्वय अमनलाल मोदी र लेखनाथ दाहालले सार्वजनिक लेखा समिति सभापति परिवर्तन गर्नुपर्ने बताएका थिए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यास रहेको बताएका थिए ।

एमाले सांसद बास्कोटाले भने सभापति परिवर्तन गर्ने हो भने राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरिनुपर्ने बताए ।

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । राष्ट्रिय सभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनीत नारायणप्रसाद दाहाल छन् । दाहाल माओवादी केन्द्रका नेता हुन् ।

एमालेका सांसद बास्कोटाले भने, ‘सार्वजनिक लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष र प्रतिपनिधिसभाको उपसभामुख पनि फेरौं । फेर्ने कुरा सहमति बनाएर फेर्नुस्, अनि कुरा गरौंला ।’

बास्कोटाले सार्वजनिक लेखा समिति मात्रै नभई अन्य समितिका सभापति पनि परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

माओवादी केन्द्रकी सांसद विमला सुवेदी प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समिति सभापति छिन् ।

प्रतिपक्षमा रहेको राप्रपाका सांसद दीपकबहादुर सिंह विकास समिति सभापति छन् ।

सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गरी प्रतिपक्षी दललाई दिनुपर्ने माग उठेकोमा एमालेका सांसदहरूले विरोध गरिरहेका छन् ।

Published : Sunday, 2024 August 25, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया