ओखलढुङ्गामा ब्लड बैंक स्थापना गर्न खतिवडाको माग, प्रचण्डलाई फाइल र ७ समुद्रपारबारे स्पष्ट हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा ब्लड बैंक स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘ओखलढुङ्गामा ब्लड बैंक छैन । ब्लड बैंक स्थापना गरियोस् ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले ७५३ स्थानीय तहमा शिलान्यास भइसकेका अस्पतालहरू ईक्वीपमेन्टसहित सञ्चालन गर्न माग गरेका छन् । उनले अस्पताल बनाउने भनेर शिलान्यास भए पनि हालसम्म काम हुन नसकेको बताए ।

खतिवडाले भने, ‘२०७७ साल मंसिर १५ गते जस्तो लाग्छ । देशका ७५३ मध्ये ६५७ अस्पतालहरूको शिलान्यास भयो । आज धेरै अस्पतालहरू बनेका छैनन् ।’

‘कहिँ शिलान्यास भएका ठाउँहरूमा अहिलेसम्म मूर्ति एउटा स्थापना भएको छ । अस्पताल बनेका छैनन् । बनेका ठाउँमा भवन बनेका छन् । इक्वीपमेन्टहरू छैनन् । दक्ष जनशक्ति छैन’, उनले भने ।

‘जनतामा एउटा आशाको दियो पलाएको त्यो निभेर गएको छ । दुर्गम ठाउँबाट बिरामी ल्याउनु प¥यो भने हेलिकप्टरको व्यवस्था गर्नुपर्नेछ’, सांसद खतिवडाले भने ।

‘यो अवस्थामा सम्पूर्ण देशका ७५३ वटा अस्पताल ईक्वीपमेन्टसहितको उपचार गर्ने व्यवस्था होस भनेर सरकारसँग अनुरोध गर्नु चाहन्छु’, उनले भने ।

सभापति खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहालको सरकार फाइलले ढलेको हो वा सात समुद्रपारबाट ढालिएको हो स्पष्ट पार्न व्याङ्ग्य गरेका छन् ।

खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्रीले आफ्नो पार्टीको मिटिङमा सात समुद्रपारबाट मेरो सरकार गि¥यो भन्नुभए छ । कोही फाइलले हट्यो भन्ने, कोही समुद्रपारले हट्यो भन्ने के भएको हो ? जानकारी पाउँ ।’

Published : Tuesday, 2024 August 27, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया