शर्मालाई नेता बनाउन एमालेको प्रचण्डलाई प्रस्ताव
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक लेखा समिति माग गरेर जथाभावी बोलेपछि एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद आफूलाई नचाहिए जनार्दन शर्मालाई दिन सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद संवैधानिक भएको भन्दै पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि तेस्रो दलले स्वतः पाउने बताए ।
माओवादी अध्यक्ष दाहालप्रति लक्षित गर्दै एमालेका सांसद पन्तले भने, ‘संविधान त पढ्नुहोस्, प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, खोजेर पाउने पद होइन । हामीले खोजेर पनि पाउने पद होइन ।’
‘तपाईंलाई पनि दिएको होइन । तपाईंको दललाई दिएको हो । दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो दल प्रमुख प्रतिपक्षीमा स्वतः भएको हो’, पन्तले भने, ‘मन लाग्दैन भने तपाईंकै छेऊमा जनार्दनजी हुनुहुन्छ दिनुस् न उहाँलाई ! चाहिँदैन हामीलाई । नभए अर्को दलको नेतालाई दिनुस् । यति ज्ञान त हुनुपर्यो नि !’
संसदीय दलका नेता समेत रहेका अध्यक्ष दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिन अनेक तर्कवितर्क गरिएको बताए । दाहालले प्रमुख प्रतिपक्षी दलको नेता पनि सत्तापक्षलाई आफै राख्न भनेका थिए ।
एमालेका सांसद पन्तले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेता हुने अनि यो पद पनि लैजाऊ भन्ने, प्रधानमन्त्री पद गएको यति किन औडाहा र छटपटी ! चाहिँदैन सत्ता भन्नुहुन्छ ।’
‘घरी यता, घरी उता गरेर यो संसदभित्र जता सत्ता उतै प्रचण्ड भनेर स्थापित गर्ने को ? तपाईं स्वयम् होइन ? तपाईंकै कारणले मुलुकमा अस्थिरता उत्पन्न भयो’, पन्तले दाहालप्रति लक्षित गरेर भने, ‘तपाईंकै कारणले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कमजोर भयो । त्यसैले आफूतिर फर्किएर हेर्नुस् ।’
तत्कालीन समयमा एमालेको उक्साहटमा जनार्दन शर्माले माओवादी पार्टी विभाजन गर्न लागेको भनेर बालुवाटारबाट दाहालले हल्ला फैलाएको आरोप लागेका बेला एमालेकै सांसद पन्तले जनार्दन शर्मालाई दलका नेता पद दिन सुझाव दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया