अन्नपूर्णको भुरुङदी खोलामा स्पेनिस नागरिकको मृत्यु, एकजना बेपत्ता
पोखरा । कास्कीको वीरेठाँटीबाट पदयात्रामा गएका एकजना पर्यटकको मृत्यु भएको छभने अर्का एकजना बेपत्ता भएका छन् ।
आइतबार घोरेपानी पदयात्राका दुई जना स्पेनिस नागरिक गएका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुधामे झिलीबराङ क्षेत्रको भुरुङदी खोलामा स्पेनिस नागरिक ३७ वर्षीय इरिक सोलेर कासानोभास रहेका छन् ।
३२ वर्षीया मेर्सी मोलास जुन्का सोही खोलामा परी वेपत्ता भएको प्रहरीले अनुमान गरेको छ । जुन्काको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताएका छन् ।
उनीहरू वीरेठाँटीबाट तिखेढुङगा, उल्लेरी हुँदै आइतबार घोरेपानी जाने क्रममा तिखेढुङगास्थित भुरुङदीखोलाको छहराबाट खसेका थिए ।
छहरा मनमोहक भएका कारण सम्भवतः उनीहरू फोटो खिच्ने क्रममा चिप्लीएर लडेको र खोलाले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बेवारिसे अवस्थामा भेटिएसँगै सोमबारदेखि उनीहरूको खोजी भएको थियो ।
खोजीका लागि मंगलबार कालिका गण मालेपाटन पोखराबाट गोताखोरसहितको सशस्त्र प्रहरी, पर्यटक प्रहरी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वमा जनप्रतिनिधि, स्थानीयवासी, एक्यापका प्रतिनिधि लगायतको टोली बिहानैदेखि खटिएका छन् ।
कासानोभासको शव मंगलबार दिउँसो करिव १ बजे खोलास्थित ढुङाको चेपमा फेला परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया