सभापति खतिवडाद्वारा अर्थमन्त्री पौडेलसँग चम्पादेवीलाई २ करोड बजेट माग, यस्तो छ किम्बदन्ती

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको चम्पादेवी मन्दिरको मर्मत सम्भार, पूर्वाधार तयारीका लागि बजेटको माग गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर चम्पादेवी मन्दिरको मर्मत सम्भार र धार्मिक पर्यटनका लागि दुई करोड रुपियाँ माग गरेका हुन् । अर्थमन्त्री पौडेलले चम्पादेवी मन्दिरका लागि छिटोभन्दा छिटो बजेट व्यवस्थापन गरिदिने बचन दिएको सभापति खतिवडाले बताएका छन् ।

सभापति खतिवडाले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई पनि भेट गरेर मन्दिरका लागि बजेट उपलब्ध गराइदिन आग्रह गरे । सचिव डा.घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्णय गराएर ल्याएमा बजेटको सुनिश्चितता गरिदिने आश्वासन दिएका छन् ।

चम्पादेवी मन्दिरको लागि बजेट माग गर्न सभापति खतिवडा, चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी लगायतको टोली अर्थ मन्त्रालय पुगेको थियो ।

चम्पादेवी मन्दिर ओखलढुङ्गाकै प्रमुख धार्मिकस्थल हो । चम्पादेवी गाउँपालिकाको वडा नं. ९ मा मन्दिर रहेको छ ।

चिताएको पुग्ने र जति तीर्थालु बढ्यो उति नै मात्रामा चम्पादेवी थानमा रहेको झरनामा पानी बढ्ने धार्मिक विश्वास छ ।

चम्पादेवी मन्दिरमा विशेषगरी मंसिरको हरिबोधनी एकादशीका दिन मुख्य मेला लाग्ने गर्दछ । मन्दिरमा बाह्रै महिना दर्शन गर्न देशका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरू आउने गरेका छन् ।

मन्दिरमा दर्शन गर्दा बालबच्चा नहुने दम्पतिहरूले रित्तो कोक्रो ल्याएर देवीसमक्ष सन्तान माग्ने प्रचलन रही आएको छ । सन्तान माग्दा सन्तान प्राप्त हुने धार्मिक जनविश्वास छ ।

पशु चौपाया बृद्धि गराउनका लागि दर्शनार्थीहरूले दाम्लो लिएर मन्दिर पुग्ने र दर्शन गरेर फर्कँदा मन्दिरदेखि नै गाईवस्तु डाँक्दै दाम्लो घिर्सार्दै फर्कने गरेको पाइन्छ ।

धन सम्पति नहुनेहरूले धन होस् भनी चम्पादेवीसँग वर माग्ने गरेका छन् । छाला सम्बन्धी रोग नलाग्ने र लागेको रोग निको हुने विश्वासमा दर्शनार्थीहरूले चम्पादेवीको मन्दिरको झरनामा नुहाउने गरेका छन् ।

चम्पादेवी मन्दिर झाँक्री विद्या सिक्ने प्रमुख थलोको रुपमा चिनिन्छ । हरिबोधनी एकादशीका दिन यस मन्दिरमा दर्जनौं धामी झाँक्रीहरू ढोल, ढ्यांग्रो बजाउँदै दर्शन गर्न र विद्या हाँसिल गर्न आउने गरेका छन् ।

चम्पादेवी आफैं उत्पति भएकी देवी हुनाले दर्शन गर्दा तान्त्रिक विद्यामा थप शक्ति आउने धामी झाँक्रीहरूको विश्वास छ ।

मन्दिरमा कुनै पनि वली चढाइँदैन । फूल, अक्षता, दही, दूध, त्रिशुल, घण्टा, सुन, चाँदीका गहना, भेटी, डोरोलगायतका वस्तुहरू मन्दिरमा चढाइँदै आएको छ ।

परापूर्वकालमा एक गोठालो परिवारले जीविकोपार्जनका लागि आफ्ना गाईवस्तु चरणका लागि हालको चम्पादेवी मन्दिर रहेको क्षेत्रमा खर्क राखेका थिए । उनको परिवारमा चम्पा नाम गरेकी छोरी थिइन् ।

एकदिन गाईवस्तु चराउने क्रममा एक्कासि चम्पा हराइन् । लामो समय खोजी गर्दा पनि छोरी नभेटिएपछि गोठालो निराश हुँदै गाईवस्तु लिएर खर्क छाडी घर फर्किए ।

अर्को वर्ष पनि सोही ठाउँमा खर्क लैजाँदा एकदिन अचानक सबै गाईवस्तु गायब भए । उसले धेरै खोजी गर्दा पनि नभेटेपछि खर्क रहेको गोठमै गएर गोठालो सुते । राति सपनामा एकजना आफ्नी छोरी चम्पाजस्तै लाग्ने एक बालिका आएर आफू देवी भएको र हालको चम्पादेवी भएको स्थानमा मूर्ति भेटिने कुरा बताइन् ।

हरिबोधनी एकादशीका दिन सो ठाउँमा गएर खन्दा मुर्ति भेटिने र उक्त मूर्तिलाई सफा गरी छेउमै रहेको झरनाको पानीले धोइ पखाली गर्न ती बालिकाले आग्रह गरिन् । भेटिएको मूर्तिलाई गाईको दूध, धूप, फूल अक्षता, पाती, दही चढाएर स्तुति गर्दा हराएका सबै गाईवस्तुहरू भेटिने कुरा ती बालिकाले बताएको किम्वदन्ती छ ।

मन्दिरमा पुग्नका लागि ओखलढुङ्गा सदरमुकामबाट कटुञ्जेको कोषभञ्ज्याङ हुँदै जान सकिन्छ । अहिले कोषहाटबाट मन्दिरसम्मै सडक पुगेकाले सवारीमार्फत दर्शन गर्न जान सकिने स्थानीय बताउँछन् ।

मध्य पहाडी लोकमार्गअन्तर्गत नवलपुर घाटबाट चम्पादेवी गाउँपालिकाको पलापु, ताप्केडाँडा (गाउँपालिका केन्द्र), फेदीगुठ (जहाँ कालिका मालिका देवीको नामले चिनिने एकै ठाउँमा रहेका १० भन्दा बढी देवीहरूको दर्शन गर्न सकिन्छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत नै थोल्मेघाटबाट सुनकोसी गाउँपालिकाको बलखु, सिस्नेरी र चम्पादेवी गाउँपालिकाको फलाटेभञ्ज्याङ हुँदै जान सकिन्छ ।

रामेछाप जिल्लाको मन्थली, साँघुटार हुँदै ओखलढुंगाको रानीवन, घोराखोरी, बिलन्दुहुँदै पनि मन्दिर पुग्न सकिन्छ ।

चम्पादेवी मन्दिरबाट सूर्योदय र सूर्यास्तसँगै सर्वोच्च शिखर सगरमाथालगायतका हिमश्रृङ्खला अवलोकन गर्न पाइन्छ ।

Published : Thursday, 2024 August 29, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया