हत्याको १४ वर्षपछि सीआइबीद्वारा सुजन बेघालाई कीर्तिपुरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी ३३ वर्षीय सुजन बेघालाई पक्राउ गरेको छ ।

सुजन बेघा पाँचथरको च्याङ्गथापु घर भई झापाको दमक नगरपालिका वडा नं. १० गोरखाली टोलमा बस्दै आएका थिए ।

२०६७ जेठ २९ गते झापाको दमक नगरपालिका वडा नं.१० स्थित पाथिभरा सिनेमा हल पछाडि प्रतिवादी सुजन बेघा समतेका प्रतिवादीहरूले कुटपिट गरी घाइते बनाइएका खगेन्द्र राईको उपचारको क्रममा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको थियो । खगेन्द्र राईको हत्यापछि फरार रहेका सुजन बेघालाई १४ वर्षपछि सीआइबीले पक्राउ गरेको छ ।

सोही कुटपिट गरेको चोट र पीडाका कारण २०६७ असार १४ गते राति खगेन्द्र राईको मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको २०७५ वैशाख २ गतेको फैसलाले प्रतिवादी सुजन बेघालाई जन्म कैद हुने ठहर भएको थियो । उक्त सजाय वेरुजू रही भागी फरार भई लुकीछिपि बसीरहेको अवस्थामा सुजन बेघालाई व्यूरोको टोलीले पक्राउ गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले भदौ १३ गते कीर्तिपुर, काठमाडौंबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका सुजन बेघालाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Published : Friday, 2024 August 30, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया