दोस्रो नम्बरका विवादित जोशीलाई सीईओ बनाएपछि मन्त्री पाण्डेको हुती देखियो, प्रदीपलाई छुन सकेनन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो कामको शुरुवात गर्छन् की भनेर आशा पलाएका बेला नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विवादास्पद व्यक्ति दीपकराज जोशीलाई नियुक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा बसेको पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशी पर्यटन बोर्डका पूर्व सीईओ हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ईन्दु घिमिरेको संयोजकत्वको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।

पहिलो नम्बरमा निवर्तमान सीईओ डा.धनञ्जय रेग्मी रहेका थिए । दोस्रो नम्बरमा पूर्वसीईओ दीपकराज जोशी र तेस्रो नम्बरमा धानेश्वर महतोको नाम रहेको थियो ।

मन्त्री पाण्डेले सिधै हस्तक्षेप गरेर दोस्रो नम्बरमा सिफारिसमा परेका जोशीलाई पर्यटन बोर्डको सीईओमा नियुक्त गरेका छन् । दोस्रो नम्बरका जोशीलाई मन्त्री पाण्डेले किन काखी च्यापेर सीईओमा नियुक्त गरेका हुन् गम्भीर प्रश्न उठेको छ ।

पर्यटन बोर्डको सीईओमा दोस्रो नम्बरका जोशीलाई नियुक्त गर्दा मन्त्री पाण्डेले चलखेल त गरेका होइनन् बजारमा ठूलो हल्लाखल्ला छ । पर्यटन बोर्डको सीईओ पद कमाइको हिसाबले निकै आकर्षक मानिन्छ । सीईओ बन्नका लागि ठूलो चलखेल हुने गरेका बिगतका चर्चाहरूबाट धेरै कुरा बाहिर आएका छन् ।

जोशी पर्यटन बोर्डको सीईओ रहेका बेला अख्तियार दुरुपयोग अनुसनधान आयोगमा बयान दिएर थाकेका थिए । अख्तियारबाट सफाइ पाए पनि जोशी पर्यटन बोर्डमा विवादित व्यक्ति थिए ।

तत्कालीन समयमा सीईओ रहेका बेला जोशीले विदेशी नागरिक माइकल कोबल्टलाई १ करोड दिएका थिए । त्यो रकम खाएर कोबल्ट फरार भएपछि जोशीको नियतमा प्रश्न उठेको थियो ।

बर्दिया जिल्ला स्थायी घर भएका जोशी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निकट मानन्छन् । जोशीलाई सीईओ बनाउन उपसभापति खड्काले पनि रणनैतिक भूमिका खेलेको चर्चा छ ।

तत्कालीन समयमा सीईओ भएका बेला जोशीले धेरै कर्मचारीहरूलाई विदेश भ्रमणमा पठाएका थिए । कर्मचारीहरूलाई फजुल खर्च गरेर विदेश भ्रमणमा पठाएको र अनावश्यक खर्च गरेको भन्दै जोशीको पालामा करीव ६० करोड रुपियाँ बेरुजु आएको थियो । सोही ६० करोड बेरुजुको हिसाब मिलान र ढाकछोप गर्न जोशीले सबै शक्ति प्रयास गरेर सीईओ पद हत्याएको चर्चा पर्यटन बोर्डमा छ ।

पर्यटन बोर्डमा १० जना कर्मचारी नेताहरू छन् । भाइरसका रुपमा परिचित ती कर्मचारी नेताहरूको संरक्षणमा जोशीले मन्त्री पाण्डेलाई कन्भिन्स गरेर सीईओ पद पाएका हुन् ।

कुन्दन शर्मा मिश्र, नवीन पोखरेल, सुदन सुवेदी, सन्तोष थापा लगायतका पर्यटन बोर्डका १० जना कर्मचारी नेताहरूले जोशीलाई सीईओ बनाउन मन्त्री पाण्डे लगायतसँग लबिङ गरेका थिए ।

तत्कालीन समयमा जोशी सीईओ भएका बेला प्रतिगोटा ९५ रुपियाँमा छापिने क्यालेण्डरलाई ७५० मा छापेर दश हजार प्रति छापेको भनेर रकम खाएको चर्चा पनि छ ।

दीपेन्द्र पुरुष ढकाल, शंकर कोइराला, आत्माराम पाण्डेसहित ६ पूर्वसचिवहरूले प्रश्नउत्तर गराएर गरिएको छनौट सिफारिसको नौटंकी दोस्रो नम्बरका जोशीको नियुक्तिले पर्यटनमन्त्री पाण्डेको हावा खुस्किएको छ । सिफारिसका नाममा १७/१८ महिनासम्म गरिएको नाटकको शुक्रबार पर्दा उघ्रिएको छ ।

मन्त्री पाण्डेले सबैभन्दा पहिला नेपाली आकाश सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवा प्रदायक बनाउनुपर्ने थियो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पहिलो स्पष्टीकरण सोधेर निलम्बन गरी कारबाही प्रक्रियामा जानुपर्ने थियो ।

महानिर्देशक अधिकारीका सामु मन्त्री पाण्डे निरिह बनेका छन् । मन्त्री पाण्डेले जोशी जस्ता विवादित पात्रलाई नियुक्ति दिएर सबैलाई चकित तुल्याइदिएका छन् । मन्त्री पाण्डेले नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोध्ने हिम्मत गरेका छन् । तर, प्राधिकरणका माहनिर्देशकलाई पत्र पनि पठाउन डराएका छन् ।

Published : Friday, 2024 September 6, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया