तीज पर्वले देश र समाजलाई पारिवारिक अपनत्व दिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका अर्थात् तीज पर्वको अवसरमा शुभ–कामना व्यक्त गरेका छन् ।

शनिबार तीज पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भने, ‘हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध छ ।’

‘विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व हो’, उनले भने, ‘तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ ।’

‘हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजवुत तुल्याउदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रा यी परम्पराले हाम्रो समाजलाई एक साझा फूलवारीका रूपमा प्रतिविम्वित गर्दै आएको छ’, देउवाले भने, ‘यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।’

उनले भने, ‘यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् ।’

‘हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरूमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भने ।

शनिबार हिन्दूधर्मालम्बी महिलाहरूले तीज पर्वलाई विशेष श्रद्धाभक्तिका साथ मनाइरहेका छन् ।

Published : Friday, 2024 September 6, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया