सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा ३ कारण, दुर्घटना दोहोरिँदा पनि हुँदैन प्रदीपलाई कारबाही

काठमाडौं । दुर्घटनाबारे प्रमुख तीन कारणहरू देखाउँदै सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन समितिले प्रारम्भीक प्रतिवेदन सरकारलाई बुझाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन ९ गते भएको जहाज दुर्घटना विमानको तौल र गति नमिलेकाले भएको प्रारम्भीक प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनास्थलको निरीक्षण, विमानको मूल्याङ्कन र सौर्य एयरलाइन्सका ग्राउन्ड कर्मचारीहरूसँगको अन्तर्वार्ताबाट अपरेटरले आफ्नो सञ्चालन नियमावलीमा तोकिएको अनुसार नगरेको पनि खुलेको छ ।

फ्लाइट प्लानमा उल्लेख गरिएको र फ्लाइट डाटा रेकर्डरमा रेकर्ड गरिएको भी–स्पीड क्विक रेफरेन्स ह्यान्डबुक (क्यूआरएच) सँग मेल नखाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सी–चेकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको सीआरजे २०० जहाज उड्नेबित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनीषरत्न शाक्यमात्रै बाँचेका थिए ।

सरकारले दुर्घटनालगत्तै रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

जहाज दुर्घटनाबारे समितिले प्रतिवेदनमा भनेको छ, ‘पहिलो कारण – जहाज तौलको मापदण्ड पालना भएन । दोस्रो कारण – जहाज उडानका लागि आवश्यक गति पुगेन । तेस्रो कारण – फेरि फ्लाइट लागि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने प्रक्रियामा कमजोरी ग¥यो ।’

नेपाली नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गतिलोसँग नेतृत्व सम्हाल्न नसकेका कारण हवाई दुर्घटनाहरू भइरहेको आरोप छ । सात वटा ठूला हवाई दुर्घटना हुँदा समेत महानिर्देशक अधिकारीलाई सरकारले स्पष्टीकरण वा कुनै पनि कारबाहीको कदम चाल्न सकेको छैन ।

Published : Friday, 2024 September 6, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया