हिंसा शब्दलाई लिएर माओवादीले संसद् अवरुद्ध पार्ने काम आवश्यक छैन : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका छन् ।

आइतबार काठमडौंमा पत्रकारहरुसँग कुरा गर्दै डा.महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद् बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गरे ।

एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोट्याइरहनुपर्ने आवश्यकता नभएको डा.महतले बताएका छन् ।

‘संसदमा सदस्यहरुले आ–आफ्नो कुरा प्रकट गर्दछन् । त्यो सबैमा सहमति भएर बोलेको कुरा हुँदैन’, उनले भने, ‘कुनै शब्द प्रयोग गर्दछन् । त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन ।’

उनले भने, ‘अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद् बाहिर पनि विभिन्न विशेषणहरुको प्रयोग हुन्छ ।’

डा.महतले भने, ‘उहाँहरुले एउटा विशेषण दिनुहुन्छ । अर्को पक्षले अर्को विशेषण दिन्छ । त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आइपुगेका छौं । एकैठाउँमा हामी संसदमा छौं । त्यसो हुनाले अब हामीले ती विषयहरुलाई कोट्याइरहनुपर्ने आवश्यक छैन ।’

कांग्रेसका प्रवक्ता डा.महतले सहकारी काण्डमा विवादमा तानिएका सबैलाई सरकारको सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए ।

Published : Sunday, 2024 September 15, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया