सहकारीको रकम ठगी काण्डमा संसदीय समितिको प्रतिवेदनमा लामिछाने दोषी ठहर हुने पक्का

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन बनाउन लागेको छ । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने दोषी देखिने सम्भावना बढेर गएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहितलाई दोषी देखाएर समितिले प्रतिवेदन तयार गरेको छ ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेका थिए ।

लमिछानेले छानबिन समितिमा ९ घण्टा बयान दिएका थिए । लामिछानेले गोर्खा मिडियाका लगानी, आम्दानी र खर्चबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै आएका छन् ।

कम्पनीका अध्यक्ष राईले जस्तै प्रबन्ध निर्देशक लामिछानेले पनि सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाई २०७७ वैशाख ५ मा कम्पनी रजिस्ट्रार कार्यालयबाट सेयर कायम गराएका थिए ।

छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको छ ।

संसदीय समितिका सदस्य तथा रास्वपा सांसद शिशिर खनाल र माओवादी सांसद लेखनाथ दाहालले लामिछानेको नाम किटान नगर्न अडान लिएको स्रोतले जनाएको छ ।

सात सदस्यीय समितिमा सभापति सूर्य थापासहित सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य छन् ।

Published : Monday, 2024 September 16, 7:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया