मन्त्री पाण्डे महानिर्देशक अधिकारीसामु लम्पसार, हवाई सुरक्षा जस्ताको त्यस्तै

काठमाडौं । प्रतिनिधि सभाको बैठक अन्त्य भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी निकै खुसी भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवा प्रदायक बनाउने भनेका थिए । प्राधिकरण विभाजन गर्ने विधेयक पनि अगाडि बढाएको भनेर निकै ठूलो गफ दिएका थिए । तर, मन्त्री पाण्डे महानिर्देशक अधिकारीका सामू लम्पसार बनेका छन् । मन्त्री पाण्डेको पनि हुती महानिर्देशक अधिकारीले राम्रोसँग देखाइदिएका छन् ।

चालु अधिवेशनमा मन्त्री पाण्डेले प्राधिकरण विभाजन गर्ने विधेयक अगाडि बढाउन सकेनन् । महानिर्देशक अधिकारी हाबी भएर मन्त्री पाण्डेलाई मात खुवाई दिएका छन् ।

अधिकारी महानिर्देशक बनेर आएपछि हवाई दुर्घटनाहरू निकै बढेपछि प्राधिकरण विभाजन गरेर सेवा प्रदायक र नियामक निकाय बनाउन खोजिएको थियो । संसदमा समेत प्राधिकरण विभाजन गर्न ठूलो आवाज उठेको थियो ।

युरोपियन युनियनले पनि नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकाय बनाउन दवाव दिँदै आएको छ ।

महानिर्देशक अधिकारी चालु अधिवेशनमा प्राधिकरण विभाजन गर्ने विधेयक रोक्न सफल भएका छन् । अधिकारीको उद्देश्य पूरा भएको छ । अधिवेशन शुरु हुन कम्तीमा पनि ४÷५ महिना लाग्न सक्छ । यो अवधिमा महानिर्देशक अधिकारी साँडे जस्तै मन्द्राएर प्राधिकरणमा बस्ने छन् भनेर व्यापक चर्चा चलेको छ ।

मन्त्री पाण्डे र महानिर्देशक अधिकारीबीच राम्रो डिल भएको चर्चा छ । मन्त्री पाण्डेलाई महानिर्देशक अधिकारीले चिप्ले कुरा गरेर थाङ्नामा सुताएको भनेर प्राधिकरणभित्र कुरा चलेका छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महानिर्देशकबाट अधिकारीलाई हटाउन खोज्दा मन्त्री किराँती हट्नु परेको थियो । महानिर्देशक अधिकारीले नै तत्कालीन मन्त्री किराँतीको मन्त्री पद खाइदिएका थिए । किराँतीको जस्तो अवस्था नओस् भनेर मन्त्री पाण्डेले महानिर्देशक अधिकारीसामु लम्पसार परेको स्रोतको दाबी छ । महानिर्देशक अधिकारीसँग डराएर थुरुरु कामेर मन्त्री पाण्डे बसेका छन् ।

मन्त्री पाण्डेलाई उमा कन्स्ट्रक्शनबाट लाभ मिलाईदिएको भनेर महानिर्देशक अधिकारीले नजिकका आफ्ना साथीहरूलाई भन्न थालेको स्रोतको भनाइ छ । मन्त्री पाण्डेका खल्ती गरम भएको भनेर प्राधिकरणका कर्मचारीहरूले चर्चा गर्न थालेका छन् ।

महानिर्देशक अधिकारीकी पत्नी नेपाली सेनाको अधिकृत छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नलागोस् भनेर महानिर्देशक अधिकारीले आफ्नो सबै सम्पत्ति पत्नीको नाममा राखेको स्रोतको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताको छानविन गर्न बनेको संसदीय उपसमितिलाई पनि महानिर्देशक अधिकारीले पूर्वमन्त्री प्रेम आलेमार्फत मिलाइ सकेको आरोप छ ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानविन गर्न बनेको अर्को उपसमितिलाई पनि पूर्वमन्त्री योगेश भट्टराईमार्फत मिलाइ सकेको आरोप छ । एमालेका नेता भट्टराईमार्फत महानिर्देशक अधिकारीले ‘केपी ओली कप क्रिकेट’ चन्दा दिएको चर्चा छ ।

महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन । उनको कार्यालयमा पनि सम्पर्क हुन सकेन ।

Published : Wednesday, 2024 September 18, 4:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया