रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे, म त छक्कै परेँ कुरा सुनेर : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘एक महिने विशेष अभियान’को शुभारम्भ गर्दै सभापति देउवाले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको बताए ।

उनले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको बताए । देउवाले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिएका छन् ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ’, देउवाले भने, ‘उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले त पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ ।’

सभापति देउवाले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर ।’

उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको बताए ।

सभापति देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन् । उनले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन् ।

देउवाले पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न आग्रह गरेका छन् । उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए ।

Published : Wednesday, 2024 September 18, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया